अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ ।

उक्त बैठकमा विगतमा भएको निर्णयको पुनरावलोकन गरिँदै समूह नविकरण नया सदस्यहरू थपिने, आ.व.०८०/८१ को वार्षिक लेखा परीक्षण, समाजिक लेखा परीक्षण गरी वडास्तरीय समूहहरूको पुर्नगठन गरिने निर्णय गर्दै मानव अधिकार समूहका अध्यक्ष मो. जहिर शेषको अध्यक्षतामा सम्पन्न गरेको छ ।
विगतको कार्यक्रम सञ्चालनका क्रममा देखिएको पारदर्शिता, जवाफदेहिता, स्थानीय सहभागिता र कार्यको प्रभावकारितालाई देखेर गरिएको कामबाट प्रभावित भइ जानकी गाउँपालिकाले १ लाख रुपियाँ वातावरण तथा सरसफाई कार्यक्रम गर्न छुट्टयाई दिएकोमा खुशी हुँदै समूहका अध्यक्षा शेषले बताउनु भयो ।
जानकी गाउँपालिकाको सवै वडाहरूमा रहेको मानव अधिकार समूहको सदस्ययता वृद्धि गरिँदै वातावरण स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन सकिने क्षमता विकास गराउँदै स्वास्थ्य शिक्षा तथा मानव अधिकार हनन्को घटना रोक्नका लागि सचेतना फैलाउन आवश्यक भएको समूह सदस्य मीना चमारले बताउनु भयो । आगामी दिनमा अझ प्रभावकारी बनाउन स्थानीय विद्यालयका छात्रछात्राहरूको सहभागिता बढाउन, जनचेतना मूलक कार्यक्रममा स्थानीय महिला पुरुषको सहभागिता बढाउँदै जाने कुरामा जोडा दिनुभयो । कार्ययोजना निर्माण तथा बैठक छलफल सहजीकरणमा इन्सेक सहजकर्ता लक्ष्मी थारुले सहयोग गरिनु भएको थियो ।
