विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले मानव अधिकार सबैको चासोको विषय र साझा सवाल भएको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा कात्तिक २४ गते सम्पन्न मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि सम्बन्धी परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले सो कुरा बताएका हुन् ।
अध्यक्ष जिसीले मानव अधिकार सबैको चासोको विषय र साझा सवाल भएको भन्दै स्थानीय तहमा मानव अधिकारको प्रत्याभूति र त्यसको कार्यान्वयनको लागि सदैव क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुन थालेको परियोजनामा गाउँपालिकाको पुर्ण सहयोग हुने अध्यक्ष जिसीले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष मिनाकुमारी रानाले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँगै दलित, अल्पसङ्ख्यक, जनजाति, महिला र बालबालिकाका सवाललाई समेत परियोजनामार्फत् सँगसँगै अगाडि बढाउन आग्रह गरिन् ।
उनले गाउँपालिकामा बढ्दो बालविवाह रोक्नको लागि गाउँपालिकाले ठोस कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै इन्सेकलाई समेत आवश्यक समन्वय र सहयोगका साथ अगाडि बढ्न आग्रह गरिन् ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले संविधानले व्यवस्था गरेको मौलिक हकको व्यवस्थालाई पालना गर्न सके मानव अधिकारको पालना हुने भन्दै अधिकार र कर्तव्यलाई सँगै बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा धर्मबहादुर जिसीको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको छ ।
समूहका सदस्यहरूमा शान्ती खड्का, सभ्यता हमाल, गोविन्द श्रेष्ठ, सूर्य बहादुर कुमाल, जमिर अन्सारी, नमिमाया पुन, दिपक विश्वकर्मा, रेणु सुनार, भुना पङ्गेनी, लक्ष्मी पुलामी र तेजप्रसाद कोइराला रहेका छन् ।










