मानव अधिकार संरक्षण र सम्वर्द्धनका लागि मिडिया साझेदारी बैठक जेठ १ गते धनुषामा सम्पन्न गरिएको छ ।
मानव अधिकारका सवालहरूमा मिडियामार्फत उठान गर्न तथा समाचार प्रेषित गर्ने सवालमा मिडियाको भूमिकालगायत विषयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा मिडिया साझेदारी बैठक गरिएको हो ।
मानव अधिकारका सवाल तथा घटनाहरूको समाचार बनाइरहँदा प्रत्येक घटनामा मानव अधिकारका हनन्, अपराध र ज्यादती के भएको हो भन्ने कुराको जानकारी हुन पत्रकारहरूका लागि मानव अधिकारको तालिम हुनुपर्ने पत्रकार घनश्याम मिश्रले बताए । मानव अधिकारका सवालहरूलाई कार्यान्वयन पक्षले गर्ने गराउनेमा कमजोरी देखा पर्दै आएको पनि उनले औल्याए ।
अब मिडियाले अनुसन्धानात्क रूपमा अगाडि बढेको र ‘एडभोकेशी जर्नालिज्म’को लागि काम गर्न थालेको अन्नपूर्ण पोष्ट दैनिककी सम्वाददाता मनिका झाले बताइन् ।

महिलाहरूको न्यायमा पहुँच र महिला हिंसा, बलात्कार जस्ता घटनाहरूमा मिडियाले राम्रो भूमिका खेले पनि महिलाहरूको न्यायमा पहुँच हुन नसकेको ओरेक नेपालकी अञ्जना साहले बताइन् ।
समन्वयकारी भूमिकाको अभाव भएको कारण मानव अधिकारकर्मी र सञ्चारकर्मीबिच केही तालमेल नमिलेको उनले बताइन् ।
बाल विवाह, बलात्कार, घरेलु हिंसा, दहेजका कारण हुने घटनाहरूका सवाल मिडियाकर्मी र मानव अधिकारकर्मीले उजागर गर्नुपर्नेमा महिला अधिकारकर्मी उर्मिला यादवले जोड दिइन् ।
अब दिनहरूमा मानव अधिकार हनन् घटना कम भएपनि आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सञ्चार क्षेत्र कलम चलाउनु पर्ने रेडियो नेपालका प्रतिनिधि अजय झाले बताए ।
पत्रकार सुभाष कर्णले प्रदेश सरकार गठन भएदेखि महिला हिंसा, बलात्कार जस्ता अपराधका घटना बढेकोमा मानव अधिकार सङ्घसंस्थाले अभिलेखिकरण गर्ने कार्य गरेपनि मिडियामा समयमा सूचना उपलब्ध नगराएको गुनासो गरे । कमसेकम त्रैमासिक रुपमा मानवधिकारका घटनाहरूको प्रतिवेदन सञ्चारमाध्यमलाई दिन उनले माग गरे ।
इन्सेक काठमाडौँ कार्यालयका संयोजक कृष्ण गौतमले पत्रकारहरू अग्रपङ्क्तिका मानव अधिकारकर्मी भएकाले उनीहरूको सुरक्षाको सवालमा इन्सेकले विगतदेखि नै काम गर्दै आएको बताए ।
मानव अधिकारकर्मी र सञ्चारकर्मीको भूमिका र सहकार्यताको बारेमा मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक दिपेन्द्र सिंहले प्रकाश पारेका थिए ।
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह एवम् नागरिक दैनिक पत्रिका प्रदेश दुई संयोजक पत्रकार सुरेश यादवले पत्रकारहरूको भूमिका र मानव अधिकारका सवालहरूमा रहेका कमिकमजोरीलाई हटाएर सहकार्य र समन्वयका साथ अगाडि बढ्नुपर्ने बताए ।
विनोदकुमार रविदास