INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

सन् २०२५ जनवरीदेखि सन् २०२५ जुनसम्ममा जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जिल्लास्थित सरोकारवालाहरुसँग ०८२ असार ९ गते दार्चुला  कैलालीमा सम्पन्न गरिएको छ । इन्सेक प्रतिनिधिहरुले जिल्लास्थित सरोकारवालाहरुसँग नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्नुभएको हो ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार अनौपचारक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ९ गते धनगढीमा सम्पन्न गरिएको छ ।

इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सन् २०२५ जनवरीदेखि जुनसम्मको अवधीमा कैलाली जिल्लामा सङ्कलन गरिएका १ सय ९१ घटनामा १  सय ५३ महिला, ३० बालिका र आठ जना पुरुष गरी १ सय ९१ जना पीडित भएका र राज्य पक्षबाट दुई जना महिलासहित चार जना पीडित भएकोे तथ्यतथ्यांक तथा विवरण प्रस्तुत गर्नुभएको थियो ।

photo20250623kailali (5)

६ महिनाको अवधीमा महिला अधिकारबाट १ सय ५३ जना पीडित भएकामा घरेलु हिंसाबाट मात्रै १ सय २६, बलात्कारबाट १८ जना पीडित भएका र छाउगोठमा एक जना महिला बाघको आकमणबाट घाइते भएका उहाँले बताउनु भयो । जातीय बिभेदबाट दुई  जना पीडित भएका छन् । यस अवधीमा बाल अधिकारबाट ३० जना पीडित भएकोमा बलात्कारबाट २१, यौन दुव्र्यवहारबाट ६, बलात्कार प्रयासबाट दुई र बेचबिखनबाट एक जना पीडत भएकोे उहाँले बताउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज इन्स्पेक्टर दर्शन खड्काले अपराधिक घटनाहरु सबै प्रहरीमा दर्ता भएर कानुनी प्रकृयामा गएकाले घटनाको अद्यावधी गर्न अवश्यक रहेको बताउनु भयो ।

photo20250623kailali (1)

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख प्रकाशदत्त भट्टले अन्तराष्ट्रिय सात ठुला महासन्धी अन्तर्गतका घटनाहरु कानुनी प्रकृयामा आउनेभएकोले कानुनको कार्यान्वयनका लागि सहज भए पनि आर्थिक, सामाजिक तथा संस्कृतिक अधिकारको घटनाहरु सतहिकरण हुन नसकेको अवस्थामा संघसस्थाहरुको यी अधिकारको अवस्थाका बारेमा अनुगमन तथा अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेकका जिल्ला प्रतिनिधिहरुले जिल्लामा संकलन गरिएका घटनाहरुहरुको थप पुष्टि गर्नका लागि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा आयोजना गरिएको बताउनु भयो ।

photo20250623kailali (2)

कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ९ गते सदरमुकाम खलंगामा सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२५ जनवरीदेखि जुनसम्म संकलन गरिएका घटनाहरु तथा जिल्लाको मानव अधिकारको अवस्था बारे समीक्षा गरिएको हो ।

इन्सेकका दार्चुला प्रतिनिधि नरेन्द्रसिह कार्कीले सन् २०२५ जनवरीदेखि जुनसम्मको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङघनका घटना बारे प्रस्तुती गर्नुभएको थियो । कार्कीका अनुसार सो अवधिमा इन्सेकले २२ ओटा घरेलु हिंसा, एक बाल अधिकार तथा दुई ओटा स्वास्थ्य अधिकार उल्लङ्घनसम्बन्धी घटनाहरू अभिलेख गरेको बताउनु भयो । यस्तै शिक्षा, स्वास्थ्य, वातावरणीय अधिकार, सामाजिक सुरक्षा, पुनस्र्थापनाका विषय समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो ।

photo20250623darchula (2)

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले इन्सेकले संकलन गरेको घटनाले जिल्लाको मानव अधिकारको चित्र देखाएको बताउनु भयो । संकलन गरिएका घट्नाहरु यर्थाथपरक छन् । राज्यले कार्यान्वयन गर्ने कुरामा जिम्मेवार छौं, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी प्रकाश दाहालले जिल्लामा संकलन गरिएका घटनाहरुलाई सरोकारवाला बीचमा प्रस्तुत गरी पुर्नपुष्ठि गर्ने कार्य सराहनीय रहेको भन्दै थप विषयहरु पनि समेटन सुझाव दिनु भयो ।

नागरिक समाज, दार्चुलाका संयोजक महेश भट्टले महिलाहरुको मानव अधिकार, तथा आर्थिक अवस्था बारे स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय गम्भीर हुनु पर्ने बताउनु भयो ।

महिला मानव अधिकारकर्मी हिरा अवस्थीले महिलामाथि हुने विभेदका घटनाहरुमा कमी आउन नसकेकोले यसतर्फ सम्बन्धित निकायहरुले थप काम गर्न आवश्यक भएको  बताउनुभयो ।

photo20250623darchula (1)

यसैबीच जिल्लामा ब्लड बैंक स्थापनाको लागि इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिह कार्कीले इन्सेकको तर्फबाट २ हजार ५ रुपियाँ सहयोग रकम प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा ब्लड बैंक स्थापनाको लागि सहयोग रकम संकलन अभियान सुरु गर्नुभएको छ ।

photo20250623darchula (4)

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति देवराज जोशी, जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश दाहाल, राष्ट्रिय अनुसन्धान अधिकृत गोबिन्दप्रसाद पाण्डेय, जिल्ला अस्पताल, दार्चुलाका डाक्टर सञ्जीव श्रेष्ठ, स्वास्थ्य कार्यालय प्रमुख बिरेन्द्रप्रसाद भट्, रेडक्रस सोसाइटी, दार्चुलाका सभापति गोपालसिह महर, पत्रकार महासंघका अध्यक्ष राजेन्द्रसिह धामी, नागरिक समाज, दार्चुलाका संयोजक महेशराज भट्ट, नेपाल बार इकाइका अधिवक्ता हरिशचन्द्र जोशी लगायत महिला अधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरले सन् २०२५ जनवरीदेखि जुृनसम्म संकलन गरिएका १ सय ५२ ओटा घटना मध्ये तीन ओटा कर्तब्य ज्यान, आठ ओटा बलात्कार, एक बलात्कार प्रयास, दुई ओटा मानववेचविखन, तीन ओटा बहुविवाह, परिवारजनबाट हत्या दुई ओटा, आत्महत्या दुरुत्साहन एक, आत्महत्या एक, घरेलु  हिंसाका १ सय ३१ ओटा र पुरुष हिंसाका आठ ओटा घटनाहरु पूर्व समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले घरेलु हिंसाबाट पीडित महिलाहरुलाई सहज र छिटोछरितो न्याय  प्रदानका निर्देशिका तयार गरी काम भइरहेको र इन्सेकले मानव अधिकारको क्षेत्रका महत्वपूर्ण कार्य गर्दैआएको बताउनु भयो ।

मानव अधिकार संरक्षण र सम्बर्धनका लागि प्रहरी संवेदनशिल भएर कार्य गरिहेको र नागरिकस्तरमा अहिले पनि सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

जिल्ला कारागार, कञ्चनपुरका प्रमुख रामदत्त जोशीले क्षमता भन्दा बढी कैदीबन्दीहरु जिल्ला कारागारमा राखिएको कारण कारागार व्यवस्थापनमा समस्या भइरहेको बताउनु भयो ।

photo20250623kanchanpur

नारी उत्थानका निर्देशक भूवन कुँवरले समाजमा हुने कुनै पनि किसिमका हिंसा तथा अपराधजन्य गतिविधिलाई रोकथाम तथा नियन्त्रणका लागि संघसंस्थाहरुले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

भिमदत्त नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखकले इन्सेकले समुदायस्तरमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

सरोकारवाला निकायले मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वय गर्न आवश्यक रहेको महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष जानकी जोशीले बताउनु भयो ।

उच्च अदालत वार एशोसियेसन, कञ्चनपुरका अधिवक्ता उद्धवराज भट्टले इन्सेकले मानव अधिकारका सवालमा गरेको वकालत तथा पीडितको न्यायिक तथा कानूनी प्रक्रियामा गरेको सहयोग प्रशंसनीय  रहेको बताउनु भयो ।

पत्रकार महासंघका अध्यक्ष शुरेससिंह धामीले दूरदराजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई पनि दस्तवेजीकरणका लागि पहल गर्न आवश्यक भएको बताउनु भयो ।

अन्य

भिडियो