नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर ३० गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले ०८० पुस १७ गतेदेखि ०८१ मङ्सिर ३० गतेसम्म सङ्कलन गरिएका २१ ओटा घटना प्रस्तुत गर्नु भएको छ । सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित धम्की, कुटपिट तथा दुर्व्यवहार १२ ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका पाँच ओटा, मानव बेचविखन तथा ओसारपसारको एक ओटा, बहुविवाहको एक ओटा र सामाजिक तथा अर्थिक अधिकारका दुई ओटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधिले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै यो प्रतिवेदनले हुम्लामा अन्य मानव अधिकारसँग जोडिएका घटनाहरू कतै नछुटेको महसुस भएको बताउनु भयो । उहाँले इन्सेकले जिल्ला भरिका यस्ता विभिन्न खाले घटनाहरू सङ्कलनले उल्लेखनीय कार्य भएको बताउनु भयो । उहाँका अनुसार यदि हुम्ला जिल्लाको मानव अधिकारको अवस्था कोही कसैले बुझेको खण्डमा इन्सेकको अभिलेखीकरणलाई आधार मानेर आफेले अन्य सरोकारवाला निकायलाई जानकारी गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले इन्सेकले मात्रै नभई यहाँका स्थानीय तहहरूले पालिका स्तरीय बालबालिका सम्बन्धी र बहुविवाह सम्बन्धीको जनचेतना तथा सन्देश मूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सरकारी वकिल शिलुका लिन्थेपले इन्सेकको प्रतिवेदन रिर्पोटमा सवारी साधन दुर्घटना भएको विषयलाई पनि समेट्नु पर्ने बताउनु भयो । उहाँले कारागारमा रहेका कैदी बन्दीको अवस्था बुझ्नुका साथै प्रतिवादिले न्याय नपाएको भए सो विषयमा पनि पहल गरिनु पर्ने सरकारी वकिल लिन्थेपको भनाइ छ ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रकासबहादुर शाहीले इन्सेकले सङ्कलन गरेका घटनाप्रति सकारात्मक धारणा राख्दै प्रतिवेदनमा छुटेका घटनाहरूलाई समेट्न सुझाव दिनुभएको छ । उहाँले विशेष गरेर गाउँमा मानव अधिकार उलङ्घनका घटनाहरू लुकेर रहेकोले ति घटनाको पनि खोजी गर्न इन्सेकलाई आग्रह गर्नु भएको हो । एक पटक घटेको घटना पुनः नदोहिरिने गरी इन्सेकले सङ्कलन गर्नुका साथै न्यायको पहुँजसम्म पुर्याउन इन्सेकलाई उपाध्यक्ष शाहीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष विकास महतले इन्सेकले ७७ ओटै जिल्लामा मानव अधिकारसँग सम्बन्धित घटनाहरू सङ्कलन गर्दछ । ति घटना सङ्कलनपछि नेपालमा मानव अधिकार हनन् तथा उल्लङ्घनका घटनाहरूमा न्यूनीकरणको प्रयास हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा उपस्थित भएका सम्पूर्ण वक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घ संस्थाहरूसँग सहयोग लिएर न्याय माग्नु पर्ने भनाइ राखेका थिए । जिल्लामा खाद्यान्नको अभाव, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रूपमा उपचार नपाएको, हवाई टिकट नपाउँदा ज्यान जोखिम लगायतका विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।


