अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ ।
बलात्कारका ७४, बलात्कार प्रयासका १४, मानव बेचबिखन तथा ओसार पसारका तीन, बहुबिवाहका २५, आत्महत्या दुरुत्साहन एक, बाल यौन दुर्व्यवहारका दश, हत्याका १२, घरेलु हिंसा मुद्दाका ११ गरी १ सय ४८ ओटा घटनामाथि समीक्षा गरिएको छ ।
इन्सेक प्रतिनिधिले अभिलेखीकरण गरेका १ सय ४८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका छलफल गरिएको छ ।
सामाजिक तथा साँस्कृतिक अधिकारका एक, सरकारी कार्यालयमा तोडफोड दुई र सार्वजनिक बसमा क्षतिको घटना एक ओटा घटना अभिलेखीकरण गरिएको छ ।
पत्रकारलाई धम्कीका पाँच वटा घटना अभिलेख गरिएको छ । समाचार लेखेको भन्दै पत्रकार कृष्ण भट्टराईलाई इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले, पत्रकार रविन्द्र यादवलाई काग्रेंसका कार्यकर्ताले, पत्रकार तजमुल हुसेनलाई भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिले, गोपाल दाहाल र जनकऋषि राईलाई धरानका प्रमुख हर्क साम्पाङ्ग राईले धम्की दिएको घटनामाथि छलफल गरिएको छ ।
कार्यक्रममा मानव अधिकार सञ्जाल अध्यक्ष राजकुमार शर्माले बढ्दो लागु पदार्थ दुर्व्यसन, प्रविधिबाट सामाजिक सञ्जालबाट साइवर अपराध र सोही माध्यमबाट यौन हिंसाका घटना हुने भएकाले त्यसको अभिलेखीकरण गर्न इन्सेकलाई सुझाव दिनुभयो ।
समीक्षामा सहभागी रामधुनी नगरपालिका-२ का वडाध्यक्ष रामनारायण चौधरीले जलवायु परिवर्तनका कारण मानवमा परेको असर लगायतका बारेमा सूचना संकलन गर्नुपर्ने सुझाव दिनुभयो ।
सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्नुपर्ने मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईले सुझाव दिनु भएको छ ।