नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ४ गते सिरहामा वार्षिक समीक्षा गरिएको छ ।
सिरहामा सन् २०२१ को यो अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी भएको प्रतिवेदन इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको छ ।
प्रतिवेदनमा यो वर्ष १ सय २० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण समेटिएको छ ।
एक वर्षको अवधिमा परिवारजनबाट पाँच जना महिलाको हत्या, बलात्कारको ६६ घटनामा ४२ बालिका र २४ महिला पीडित भएको तथ्याङ्क जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको छ ।
कार्यक्रममा लहान नगरपालिकाकी उपप्रमुख सरियारकुमारी चौधरीले इन्सेकको अभिलेखले सरोकारवालाहरूलाई पनि जिम्मेबार बनाउन मद्दत गर्ने गरेको बताउनु भयो ।
मानव अधिकार संरक्षणमा सबैको भुमिका अपरिहार्य रहेको भन्दै उहाँले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले मानव अधिकारको संरक्षणमा प्रहरी नै अग्रपङ्क्तिमा रहने बताउनु भयो ।
समाजमा हुने गरेका घटनाहरूको रोकथाम र नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँदै उहाँले सङ्घसंस्थाहरूसँग सहकार्य गरेर नै अगाडि बढ्ने उल्लेख गर्नु भयो ।
इलाका प्रशासन कार्यालयका नासु सुरेशकुमार बरालले मानव अधिकारको प्रत्याभूति गराउन राज्य सँगसँगै नागरिक पनि जिम्मेवार हुनु पर्ने बताउनु भयो ।



