INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तककाे अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न भएको छ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीले सन् २०२५ को जनावरीदेखि जुन १४ सम्ममा ३४ जनाले आत्महत्या गरेको बताए । आर्थिक वर्ष २०८१।०८२ को साउन १ देखि जेठ मसान्त सम्ममा ४९ जनाले आत्महत्या गरेकोमा पछिल्लो ६ महिनामै ३४ जनाले आत्महत्या गरेको उहाँको भनाइ थियो । आत्महत्याको अवस्था हेर्दा आर्थिक वर्ष २०७९।०८० मा ५४ जना, २०८०।०८१ मा ६० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ।

Photo 2025-07-02 Baglung (1) अधर्वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा भएका  मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १९ ओटा घटनाहरु इन्सेकले अभिलेख गरेकाे इन्सेक प्रतिनिधि अमृत बास्कुनेले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो। जसमा बलात्कार आठ, घरेलु हिंसाका १० र कुटपिट पछि हत्याको एक घटनाहरु रहेका छन्।

समीक्षाको क्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले विगतको अवस्था हेर्दा जिल्लामा बालविवाह र लागुपदार्थको बढी प्रयोग तथा आत्महत्याको पनि घटनाहरु देखिने गरेको बताउनुभयो । उहाँले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेका कार्य र उठान गर्ने सवालहरुले राज्यको निकायलाई पनि चनाखो हुन बाध्य पारेको बताउनुभयो । उहाँले अहिले जनचेतना अलिक बढाउन पर्ने देखिएको बताउँदै बालविवाह न्यूनिकरणका लागि सबैले सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । आत्महत्याको दर बढी देखिए पनि किन आत्महत्या हुन्छ र यसलाई कसरी कम गर्न सकिन्छ भन्ने तर्फ सचेत हुँदै मनोपरामर्सको सल्लाह अनुरुप योजना बनाउन पर्ने धारणा राख्नु भएको थियो ।

Photo 2025-07-02 Baglung (2)

प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जिल्ला भित्र रहेका समस्याहरुको उठान इन्सेकले गराइ दिएकोले अब समाधानका कामहरु आफूहरुले गर्नु पर्ने बताउनुभयो । उहाँले बागलुङ जिल्लामा बढ्दो देखिएको आत्महत्यालाई न्यूनिकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा ब्यापक छलफल हुनु आवश्यक रहेको बताउँदै इन्सेकले आयोजना गरेको छलफलले पनि पृष्टपोषण गरेको धारणा राख्नु भयो ।

जिल्लाको मानव अधिकारको विषयका साथै अन्य धेरै कुराहरुका बारेमा इन्सेकले कुरा उठायो अब जिल्लाका सराकारवाला हामीहरु यस विषयमा पुन बसेर समाधान तर्फ के उपाय निकाल्ने भन्ने तर्फ पनि छलफल चल्नु पर्ने प्रजिअ गुरुङले धारणा राख्नु भएको थियो । सन्तुलित जीवन भयो भने घटनाहरु कम हुने भएकोले जिल्ला समन्वयको अगुवाइमा योजना बनाएरै आत्महत्या निरुत्साहनका लागि प्रयास गर्ने तर्फ सचेत हुनु पर्ने धारणा राख्नु भएको थियो ।

जिल्ला कारागारका जेलर धीरेन्द्रराज पन्तले कारागारमा पुरुष १ सय २२ थुनुवा तथा ६७ कैदी एवम् महिला ८ कैदी ५ थुनुवा गरी कुल १ सय ३० कैदी र ५२ थुनुवा रहेको बताउनुभयो । कारागारमा दुई जना नाबालक आश्रित रहेको समेत उहाँको भनाइ थियो । कारागारमा भएका कैदी बन्दीहरु मध्ये बलात्कारजन्य कसुर र कर्तव्य ज्यान कसुर अन्तरगतका धेरै रहेको जानकारी दिनुभयो । जिल्ला कारागार बागलुङमा नियमित रुपमा औषधी प्रयोग गर्ने कैदीबन्दीहरु ३० जना रहेकोमा चार जना मानसिक समस्याको औषधी प्रयोग गर्ने रहेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत समिता घिमिरेले जिन्दगी जिउनका लागि प्रयास गराउने तर्फ सचेत गराउनु पर्ने बताउनु भएको थियो । उहाँले मानसिक स्वास्थ्यको कार्याक्रमहरु भएको छ तर कता भयो भन्ने तर्फ ध्यान नगएको हो कि भन्दै तथ्यांकमा मात्रै केन्द्रित हुनु भन्दा पनि मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रममा नबसेका कोही पनि नहुने तर सचेत हुने तर्फ ध्यान नदिने हुन सक्ने बताउनु भएको थियो ।

अनुसन्धान अधिकृत रुपेश शर्माले बजार क्षेत्रमा युथको संख्या बढ्दो ग्रामीण भेकमा पाको पुस्ता बढी हुने अवस्थले पनि बजार क्षेत्रमा युवाहरुको गलत डिसिजनले आत्महत्या बढाएको हो कि भन्ने तर्फ सबैले ध्यान दिनु पर्ने बताउनु भएको थियो ।

सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दिलबहादुर रायमाझीले प्रकृतिक रुपमा मानिस सान्त तरीकाले बस्न चाहने भए पनि कृतिम चिजमा पुग्दा तनाब बढ्दो भएको धारणा राख्नु भएको थियो । उहाँले भौतिक सुविधाले गर्दा मानिसलाई फरक बनाएको बताउँदै उहाँले भन्नुभयो फोन आवश्यकता हो तर आइफोन भन्ने बिलासिता हो त्यो बिलासिताले गर्दा मानिसको जिउने सोच पनि बदलेर आत्महत्या सम्म पुगाएको हुन सक्ने सम्म सोच्न पर्ने उहाँको तर्क थियो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले इन्सेकले हरेक वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको अभिलेखीकरण गर्ने र प्रकाशन गर्दै आएको कार्य अतुलनीय रहेको बताउनु भएको थियो । उहाँले राज्यपक्षबाट मानव अधिकार उल्लङ्घन हुन्छ भनिन्छ तर यो जिल्लामा त्यस्तो नसुनिएको अवस्थालाई यथावर राख्दै घटनाहरु शुन्य बनाउन सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले आत्महत्याको दर हेर्दा गण्डकी प्रदेशमा नै उच्च देखिएको बागलुङ जिल्लाको यो समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने र सञ्चारकर्मीले पनि त्यसका लागि भूमिका खेल्ने धारणा राख्नु भएको थियो ।

अन्य

भिडियो