अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वुद्धशान्ति गाँउपालिकामा सञ्चालन गर्न लागेको ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी)’ परियोजनाको परिचयात्मक कार्यक्रममा जनप्रतिनिधिहरूले मानव अधिकार रक्षाका लागि इन्सेकजस्तै प्रतिबद्ध रहने बताएका छन् ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा मङ्सिर ४ गते जनप्रतिनिधिले मानव अधिकार रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका हुन् ।
वुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलले मानव अधिकारको रक्षाका लागि इन्सेकको साथ पाउनु गौरवको कुरा भएको बताउँदै इन्सेक अभियानलाई गाँउपालिकाको तर्फबाट सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
गाउँकार्यपालिका सदस्य यमुना चापागाँइले इन्सेकले वुद्घशान्तिमा सञ्चालन गर्न लागेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा हुने कार्यक्रमले आफूहरूलाई समेत ती अधिकारको विषयमा ज्ञान हासिल हुने र स्थानीय तहलाई उल्लेखित अधिकार कार्यान्वयनमा सफलता मिल्ने बताउनुभयो ।
इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बागमती कट्टेलले संविधानले सुनिश्चित गरेको मौलिक हकलाई इन्सेकले स्थापित गराउन परियोजना सञ्चालन गरेको बताउनुभयो ।
सो अवसरमा देवकुमारी शेर्माको अध्यक्षतामा १४.सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा देवीध्वज योञ्जन, सचिवमा निलमणी न्यौपाने, सह–सचिवमा जानुका धमला चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा भीम लकान्द्री, विवेशकुमार मुखिया, मेनुका तामाङ्ग, भीम विश्वकर्मा, कृष्ण वली दनुवार, मीना पौडेल, दिपक गौतम, सावित्रा आचार्य निरौला र दिपेन लावती चयन हुनुभएको परियोजनाका स्थानीय सहजकर्ता राजन राईले बताउनुभयो ।


