INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षाका लागि जनप्रतिनिधि सक्रिय हुनु पर्नेमा जोड

मानव अधिकार, महिला तथा बाल अधिकारका बारेमा जनप्रतिनिधि सक्रियताका साथ लाग्नु पर्नेमा एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार निगरानी समूह चाँदबेला सुनसरीले जेठ १२ गते इनरूवामा आयोजना गरेको मानव अधिकारसम्बन्धी अभिमूखीकरण कार्यक्रममा सहभागीहरूले जनप्रतिनिधिहरू सक्रिय भए मानव अधिकार र मानव गरिमाको रक्षा हुने बताएका छन् ।

अधिवक्ता सुकदेव चौधरीले मानव अधिकार जन्मदेखि मृत्युसम्म जोडिने भएकाले हरेक परिवार र समुदायले आफ्नो संस्कृतिअनुसार जन्मकर्म र काजक्रिया गर्न पाउनुले मात्र सांस्कृतिक अधिकारको रक्षा हुने बताए ।

उनले हरेक परिवार र समुदाय फरक भएकाले सोही अनुसार कानुनको संशोधन गर्न आवश्यक रहेको बताए ।

इनरूवा नगरपालिका-७ का वडाध्यक्ष किशोरकुमार सिंहले आफ्नो वडामा मानव अधिकारमैत्री, लैङ्गिक नीति भएपनि केही कार्यान्वयमा समस्या रहेकाले त्यसलाई सम्बोधन गर्न लागेको बताए ।

सिंहले अगामी वर्षको बजेटमा मानव अधिकार रक्षा र पैरवीका लागि बजेट विनियोजन गर्ने बताए । सिंहले पुरुष प्रधान देश भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि र कानुनहरूलाई कागजमा सिमित पार्ने काम हुँदै आएकाले जनप्रतिनिधिका रूपमा आएपछि केही सकारात्मक काम गरेको र वडाभरी नै मानव अधिकारसम्बन्धी अभिमूखीकरण गरेको बताए ।

मानव अधिकार निगरानी समूह चाँदबेलाका अध्यक्ष गगन सिंहले भौतिक पूर्वाधारले मात्र विकास नहुने भएकाले मानव अधिकारको रक्षा भए मात्र वास्तविक विकास हुने बताए ।

त्यसका लागि स्थानीय सरकारले मानव अधिकार शिक्षालाई हरेक टोल र वडामा पुर्‍याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा इन्सेक प्रदेश १, कार्यालयकी कार्यक्रम अधिकृत बागमती कट्टेलले महिला अधिकारको बारेमा गाउँटोलमा अभिमूखीकरण र तालिम दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा मानवको स्वतन्त्रता, समानता र मर्यादासम्बन्धी अधिकार, लिङ्ग, वर्ण, जातजाति, भाषा, धर्म, आस्था, राष्ट्रियता, सामाजिक संरचना, सम्पति, विभेदबाट मुक्तिको अधिकार, जीवन र सुरक्षाको अधिकार, यातना तथा क्रुर अमानवीय व्यवहारबाट मुक्त हुन पाउने अधिकार, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार, कानुनको अगाडि सबै समान हुन पाउने अधिकार मानव अधिकार भित्र पर्ने कुराको बारेमा प्रशिक्षण दिइएको थियो ।

जयकृष्ण यादव

अन्य

भिडियो