अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम कात्तिक २९ गते विर्तामोडमा सम्पन्न गरिएको छ ।
समीक्षा कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले मानव अधिकार रक्षाका लागि राज्य सदैव लागि परेको बताए ।
नेपालको मानव अधिकार रक्षाको क्षेत्रमा इन्सेकको अभियान महत्वूर्ण भएको बताउँदै प्रजिअ दहालले इन्सेकले मानव अधिकार रक्षाका लागि राज्यलाई सहयोग गरेको बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी भीमप्रसाद ढकालले इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई प्रतिवेदनमार्फत् सार्वजनिक गर्ने भएकाले इन्सेकको यस अभियानले प्रहरी, प्रशासनलाई मानव अधिकार रक्षाका लागि बढी जागरूक र सचेत बनाएको बताए ।
एसपी ढकालले मानव अधिकार रक्षाका लागि प्रहरीले गम्भीर भएर काम गरेपनि कतिपय अवस्थामा प्रहरी चुकेकाले आगामी दिनमा प्रहरी सुध्रिएर जाने प्रतिबद्घता ब्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष तारामणी सापकोटाले नेपालको परिवेशमा रहेर मौलिक हक उल्लङ्घनका विषयलाई मुख्य मानव अधिकारको विषय बनाउन इन्सेकलाई सुझाव दिए ।
सो अवसरमा बोल्दै प्रदेश १, को मानव अधिकार रक्षक परिषदका उपाध्यक्ष विष्णु खरेलले अब सामाजिक, सांस्कृति र आर्थिक अधिकार मानव अधिकारको मुख्य विषय हुनुपर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि नरेश खातीले सन् २०१८ को जनवरीदेखि नोभेम्बर १४ सम्म सङ्कलन गरेका ३८ ओटा घटनाहरूमा १९ जना बालिका सहित ३९ जना पीडित भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा झापामा सो अवधिमा हत्याका चार ओटा घटनामा एक पुरूष र तीन जना महिला पीडित भएको, बलात्कारका घटनामा १९ जनाबालिका सहित २१ जना पीडित भएको, यौन दुर्व्यवहारका कारण पाँच जना बालिका, बलात्कार प्रयासका घटनामा तीन जना महिला र बम विष्फोटनको एउटा घटनामा एक जना महिला र एक जना पुरूष पीडित भएको उल्लेख छ ।
कुटपिटका घटनामा एक जना बालक सहित तीन जना पीडित भएका छन् । उक्त घटनामा राज्य पक्षबाट दुई जनालाई गैरकानुनी थुनामा राखी कुटपिट भएको इन्सेकको अभिलेखले देखाएको छ ।
नरेश खाती