अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको प्रदेशस्तरीय क्षमता अभिवृद्धि बैठक इन्सेक कार्यसमिति सदस्य अधिवक्ता विकास आचार्यको अध्यक्षतामा ०८२ माघ १५ गते नेपालगञ्जमा सम्पन्न भयो ।
मानव अधिकार रक्षकहरु निरन्तर अभियानमा लागिरहने हुँदा राज्यले निर्माण गरेका कानुन, मानव अधिकारसम्बन्धी विभिन्न दस्तावेजको बारेमा जानकारीकासाथै समुदायमा घटनाहरुको सही तरिकाले खोजी, अभिलेखीकरण, प्रतिवेदन लेखन सीप विकास गर्नुपर्ने कुरामा अधिवक्ता आचार्यले जोड दिनु भयो । 
कार्यक्रमको सहजीकरण गर्दै अधिवक्ता बसन्त गौतमले मानव अधिकार अनुगमन, अभिलेखीकरण र प्रतिवेदन लेखनका आधारभुत सिद्धान्त, प्रक्रिया तथा सिफारिसका सन्दर्भमा अभिमुखीकरण गर्नु भयो । उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक, कानुनी अधिकार भित्र पर्ने कानुनी व्यवस्थाको जानकारी गराउदै स्थानीय तहमा अनुगमन गर्दा चाहिने आवश्यक ज्ञान, सीप, प्रतिवेदन ढाँचा, प्रतिवेदन तयारी, विधी, प्रकृया बारेमा सहजीकरण गर्नु भयो ।
कार्यक्रममा जानकी गाउँपालिका अन्तर्गत नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भाटनपूर्वाको शिक्षिका शिला श्रेष्ठले विद्यालयमा नेपाल सरकारले छात्राहरुलाई वितरण गरिने छात्रवृत्तिबाट पोसाक सिलाउन पैसा अपुग हुने भएकाले समीक्षा गर्न सरोकारवाला निकायलाई दबाव दिनु पर्ने बताउनु भयो । साथै, बैठकबाट मानव अधिकार सञ्जालले सरकारले विद्यार्थीहरुलाई वितरण गर्दै आएको छात्रवृत्ति र दिवाखाजाको सत्यतथ्यको अध्ययन अनुसन्धान अनुगमन गरी सम्बन्धित निकायमा पैरवी गर्ने बैठकबाट निर्णय गरियो ।

इन्सेक कार्यक्रम फोकल पर्सन लक्ष्मी थारुले सहजीकरण गर्दै बैठकमा मानव अधिकार समूह गठनका लागि कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकाको समुदायबाट माग आएको जानकारी गराउनु भयो । लुम्बिनी प्रदेश कार्यालय, प्रलेख अधिकृत टेकनाथ आचार्यले आवश्यकता अनुसार मानव अधिकार रक्षकहरुको लागि समय समयमा ज्ञान, सीप, क्षमता विकास गराउनु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारका घटनाहरुको अभिलेखीकरण गर्दा सम्बन्धित विषयवस्तुमा स्पष्ट ज्ञान हुनुपर्ने बताउनु भयो । साथै उहाँले अभिलेखीकरण गर्दा आवश्यक विधी, प्रतिवेदन तयारी र प्रस्तुतीकरणमा ध्यानदिनुपर्ने कुरा औल्याउनु भयो । कार्यक्रममा मानव अधिकार रक्षक, शिक्षक, विभिन्न संघसंस्थाको प्रमुख तथा प्रतिनिधी, पत्रकार र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।