सुर्खेत ०८२ वेठ २८ । कर्णाली प्रदेश स्तरीय दुई दिने मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम ०८२ जेठ २७ गते सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गरिएको अभिमुखीकरणमा मानव अधिकार रक्षकको अवस्था, अवसर र चुनाैती लगायतका विषयमा छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयाे । उहाँका अनुसार दुई दिनसम्म मानव अधिकार रक्षकहरुका अधिकार, चुनौती, बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति र त्यसको कार्यान्वयनको अवस्था, महिला मानव अधिकार रक्षकहरुको अवस्थाका विषयमा जानकारी गराइएकाे छ ।
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापा, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयाेजक पिताम्बर ढकाल, इन्सेक केन्द्रीय कार्यालयका प्रलेख विभाग प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गाैतम, आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाही, स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतले मानव अधिकार रक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियाे । अभिमुखीकरण कार्यक्रममा हुम्ला, डोल्पा, दैलेख, सल्यान, जाजरकोट र सुर्खेतका २६ जना मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियाे । उनीहरुसँग EU Embassy Head of Political Tomas Millar, फिनल्यान्ड दूतावासकी प्रतिनिधि Enbuska Petra, इन्सेकका कार्यकारी निर्देशक, विजयराज गौतम, एड्भोकेसी फोरमका प्रतिनिधि बसन्त गौतम, कोक्याभकी प्रतिक्षा कार्की लगायतकाे टाेलीले अन्तरक्रिया गरेकाे थियाे।


