मानव अधिकार रक्षकको अधिकार संरक्षण सम्बन्धमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलसँग ०८१ मङ्सिर ३० गते छलफल भएको छ ।

सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति संयोजक तथा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीसहित अधिकारकर्मीको टोलीले मुख्यमन्त्री कँडेलसँग मानव अधिकार रक्षकको अधिकार संरक्षणसम्बन्धी विधेयकका विषयमा छलफल गर्नुभएको थियो ।
छलफलका क्रममा मुख्यमन्त्री कडेलले मानव अधिकार रक्षकको विधेयकका विषयमा प्रदेश सरकार सकारात्मक रहेको बताउनु भयो । छलफल कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि इन्सेकले विगत लामो समयदेखि वकालत गर्दै आइरहेको बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यस अघि मानव अधिकार रक्षकको अधिकार संरक्षणसम्बन्धी विधेयकको आवश्यकता भएको भन्दै कानुन निर्माणका लागि सहमति दिन आर्थिक मामिला मन्त्रालयमा पत्र पठाएको विषयमा जानकारी गराउनु भयो ।
इन्सेकले सरोकारवाला निकायसँग छलफल गरी तयार गरेको मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयक मुख्यमन्त्री कडेललाई बुझाएको थियो ।