अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा कोशी गाउँपालिकामा गठित मानव अधिकार समूहले ०७७ मङ्सिर १६ गते बुझाएको आठ बुँदे मागसहितको ज्ञापनपत्रको प्रभाव स्वरूप एक दशकदेखि अलपत्र अवस्थामा रहेको भाण्टाबारी खानेपानी आयोजना ०७७ चैत ९ गते सञ्चालनमा आएको छ ।
इन्सेक र मानव अधिकार समूहले खाद्य अधिकार अन्तरगत मङ्सिर १६ गते कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
इन्सेकद्वारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने”इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहले खाद्य अधिकारका विषयलाई सम्वोधन गर्न माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा भाण्टाबारी खानेपानी आयोजना सञ्चालनका लागि पहल गर्नुपर्ने माग दाबी रहेकोमा पाँच महिनापछि माग दाबी सम्बोधन हुँदै विश्व पानी दिवशको अवसर पारेर चैत ९ गते खानेपानी आयोजनाको उद्घाटन गरिएको हो ।
साविक हरिपुर गाविसमा हाल कोशी गाउँपालिका–८ भण्टाबारीमा दशक अघि निर्माण सम्पन्न भएको भाण्टाबारी खानेपानी आयोजना निर्माण सम्पन्न भएपनि अलपत्र अवस्थामा रहेको थियो ।
सोही कुरालाई सम्बोधन गर्नुपर्ने माग गर्दै मानव अधिकार निगरानी समूहले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको थियो ।
चैत ९ गते भाण्टाबारी खानेपानी आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले मानव अधिकार निगरानी समूहले आफूलाई बाटो देखाएको बताउनु भयो ।
भण्टाबारी खानेपानी आयोजना सञ्चालनमा आएपछि कोशी क्षेत्रका स्थानीयले शुद्ध पिउने पानीको सुविधा पाएको स्थानीय मञ्जुर आलमले बताउनु भयो ।
विगतमा सञ्चालनमा आएर आयोजना बन्द भएको खानेपानी आयोजना मानव अधिकार समूहको पहलमा सञ्चालनमा आएपछि आलमले खानेपानी आयोजनालाई निरन्तर दिन आग्रह गर्नु भएको छ ।
इन्सेक र मानव अधिकार निगरानी समूहको पहलमा स्वच्छ पानी घरघरमा पुगेको बताउँदै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मानव अधिकार निगरानी समूहले मानव अधिकार सम्बोधन हुने गरी माग दाबी गरेको बताउनु भएको छ ।
