मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको संयोजनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौलीको पृथ्वीनारायण माध्यमिक विद्यालयमा मङ्सिर २४ गते ७१ औँ मानव अधिकार दिवसको अवसरमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
चिरौलीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत मानव अधिकारका निम्ति स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले मानव अधिकारप्रति प्रतिबद्ध रहेको र त्यसका लागि मावन अधिकारमैत्री काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यादवले विश्व मानव अधिकार दिवस तथा १६ दिवसीय लैङ्गिकतामा आधारित हिंसा विरूद्धको समापन कार्यक्रमको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाएका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको आठ ओटै वडामा जनताको काममा मानव अधिकार र मौलिक हकमा तोकिएको हकहरूको पूर्ण रूपमा कार्यान्वयन गर्ने गरी काम गरिरहेको अध्यक्ष महेन्द्रप्रसाद यादवले बताउनुभयो ।
उहाँले गाउँको सरकारी सेवादेखि भौतिक संरचनासम्म र लक्षित कार्यक्रमहरू समेत मानव अधिकारमैत्री ढङ्गबाट काम गर्ने प्रतिबद्धता जनाए ।
यादवले आफ्नो गाउँको सबै विद्यालयमा बालमैत्री पठनपाठन, गाउँका ८ ओटा वडामा निर्माण हुन लागेको स्वास्थ्य संस्थाहरू पूर्ण मानव अधिकार र आपाङ्गमैत्री बनाउने काम सुरू गरेको जनाए ।
गाउँमा शिक्षा र स्वास्थ्यको पहुचमा केही कम रहेका समूदायहरू रहेकाले त्यसको पनि क्षमता विकास, नेतृत्व विकास र विभिन्न कार्यक्रममा सहभागीको अवसर प्रदान गर्ने गरी काम गरेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखा प्रमुख मनोजकुमार मेहताले स्वास्थ हुनका लागि पनि स्तरीय शिक्षा आवश्यक रहेकाले बालबालिकाहरूको शिक्षासँग अन्तरनिहित प्रतिभाहरू प्रष्फुटन गराउन काम गर्ने पालिकाले गरेको बताउनुभयो ।
मेहताले गाउँमा भएको मानव अधिकार समूह, बाल समूह र नागरिक समूह तथा महिला समूहहरूसँग मिलेर गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक गुणस्तर कायम गर्नका लागि सहकार्यको भुमिका समेत निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।






