मानव अधिकारसम्बन्धी अभियानलाई वडास्तरसम्म पुर्याउन सरोकारवालाले इन्सेकलाई आग्रह गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा आयोजना स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागीहरूले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रमका सहभागीहरूले गाउँपालिकाका दुर दराजमा हुने मानव अधिकार उल्लङ्घनसम्बन्धी पैरवीका लागि वडास्तरसम्म पुग्न जरूरी रहेको बताए ।
कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले अधिकांश सङ्घसंस्थाले परिणाममुखी काम नभई कागजी रूपमा मात्रै काम सीमित राख्ने प्रवृत्ति रहेको बताउँदै इन्सेकको परियोजनाले लक्षित वर्गको गुनासोलाई बाहिर ल्याउन मद्दत गर्ने अपेक्षा राखेको बताए ।
यस परियोजनाले लैङ्गिक हिंसासम्बन्धी समाजमा लुकेर रहेका घटना, खाद्य अधिकार, शिक्षाको अधिकारलगायतका विषयलाई जनता र सरोकारवाला माझ ल्याउन मद्दत गर्ने बताए ।
यस नगरपालिकामा शिक्षा क्षेत्रमा समस्या रहेको बताउँदै सबै विद्यालयमा क्लब गठन गरेर शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने वडा नम्बर १० का वडा अध्यक्ष दिपेन्द्र पुरीले बताए ।
काम गर्ने नाउँमा सबैको ध्यान केन्द्रमा मात्रै हुने भएकाले दुरदराजका विकट वडाको समस्या समाधानतर्फ सबै लाग्नुपर्ने पुरीको भनाइ थियो ।
कार्यक्रममा बोल्दै शिक्षक गणेश बुढाक्षेत्रीले नगरपालिकासँग समन्वय गरेर शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गरे ।
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न समस्याहरू रहेको बताउँदै यस परियोजनाले समस्या पहिचान गरी सम्बन्धित निकायसम्म पु¥याउने विश्वास रहेको बुढाथोकीले बताए ।
यस परियोजनाले स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि परिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, समाजिक र सांस्कृतिक अधिकारको संरक्षण गर्ने र शिक्षा, स्वास्थ, खाद्यान्न, आवासको अधिकारसँग सम्बन्धित लक्षित वर्गको समस्या पहिचान गरी सम्बन्धित निकायलाई जबाफदेही बनाउने परियोजनाका सल्यान जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिए ।
कार्यक्रममा तिलक नेपालीको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समितिको सदस्य सचिवमा दुर्गा बिसी, सदस्यहरूमा इन्द्र बुढाथोकी, दिलमाया घर्ती, आनन्द बस्नेत, निमराज बादी, गिता पुन, शर्मिला योगी, मिनराज डिसी, प्रशान्त रावत, विमला गन्धर्व, रिज्मा राना र अमृती पुन रहेको सहजकर्ता रेग्मीले जानकारी दिए ।



