अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेक प्रतिनिधिहरुले मानव अधिकार उल्लघंनका घटनाहरुको अभिलेखीकरणमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
इन्सेकको आयोजनामा असोज ३० र कात्तिक १ गते नेपालगञ्जमा आयोजित जिल्ला प्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै उक्त कुरा बताएका हुन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तकलाई समय सापेक्ष बनाउन नयाँ तथा पुराना जिल्ला प्रतिनिधिहरुलाई अभिमुखीकरण गर्न यो कार्यक्रम गरिएको गौतमले बताए ।
गौतमले घटनाहरु समेट्दा घटना स्थलमा पुगी सत्यतथ्य सूचना संकलन् गर्नमा सक्रियता जनाउन निर्देशन दिए ।
उनले जिल्ला प्रतिनिधिहरुमा काम गर्दा भएको समस्या तथा कमी कमजोरीलाई खुलस्त भएर बताउन समेत आग्रह गरे ।
इन्सेक प्रतिनिधिहरुले काम गर्दा नीति निर्माण र कानुन संशोधन लगायतका विषय समेत ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।
विषयमा अच्युत अचार्यले मानव अधिकार अभिलेखीकरणको आधारभुत अवधारणाको बारेमा सहजिकरण गरेका थिए ।
त्यसैगरी प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक प्रमुख मदन पौडेलले इन्सेकले गर्दै आएको अभिलेखका बारेमा जानकारी दिँदै यसमा गर्नुपर्ने सुधारका बारेमा सहजिकरण गरेका थिए ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र समग्र मानव अधिकारका सम्बन्धमा अधिवक्ता अच्युत आचार्यले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका प्रतिनिधिहरु, इन्सेक केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

