अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार अनुगमनसम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम ०८० चैत २९ गते धनगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले मानव अधिकारको क्षेत्रमा बिभिन्न सवालमा काम गर्ने संघसंस्थाहरु परियोजनामूखी भएर काम गरिरहेको अवस्थामा नागरिकहरुका मानव अधिकार ओझेलमा पर्दै गइरहेको र एक्लाएक्लै काम गर्ने संघसंस्थाहरु बिभिन्न समस्या तथा चुनौती भोग्नु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो— ‘नागरिकहरुको सवालप्रति राज्यलाई उत्तरदायी बनाउनका लागि सबै संघसंसथाहरु एक ठाँउमा आउन आवश्यक छ । मानव अधिकार रक्षकहरु सुरक्षित भएर मानव अधिकारका सवालहरुलाई स्थानीय तह र प्रदेश सरकारको नीति तथा कार्यक्रममा संवोधन गर्न वकालत गर्न आवश्यक छ ।’
राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले मानव अधकार संरक्षण, समाज परिवर्तनका लागि र राज्यलाई उत्तरदायी बनाउन संघसंस्थाहरु सामुहिक रुपमा सही सूचना तथा तथ्यतथ्याङ्क सहितको सवाल सामुहिकीकरण गरी साझा धारणा निर्माण गर्नु पर्ने बताउनु भयो ।

सूचना संकलनका क्रममा र समाचार प्रकाशनपछि पनि पत्रकारहरुलाइ राजनीतिक दबाव तथा धम्कीहरु आउने भएकाले प्रकाशित समाचार पनि हटाउनु पर्ने अवस्था भएकोले मानव अधिकार आयोग र मानव अधिकार संघसस्थाहरुले पत्रकारको सुरक्षाका क्षेत्रमा पनि सहयोग गर्न आवश्यक रहेको पत्रकार रमेश ऐडीले बताउनु भयो ।
दलितहरुको मुद्दा दलितको क्षेत्रमा काम गर्ने संस्थाले मात्र उठान गरेको कारण समाजबाट दलितमाथिको विभेद हट्न नसकेको फेडोका कैलाली जिल्ला अध्यक्ष सविना सुनारले बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अम्बिका भण्डारीले मानव अधिकार रक्षकहरुले घटनाको सयुक्त अनुगमन तथा अभिलेखिकरण गर्न नसक्दा पीडितहरुको पक्षमा पैरवी गर्न र समस्याको समाधान गर्न समस्या हुनेगरेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख हरी ज्ञवालीले मानव अधिकारको अनुगमनका प्रकार, अनुगमनका सिद्धान्त, अुगमनकर्ताका गुण, तथ्य संकलन विधि र अनुगमनका आधारभूत सिद्धान्तहरुको बारेमा प्रस्तुती गर्नुभएको थियो ।