
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम धनुषामा सुरु गरिएको छ ।
फोरम एशियाको आर्थिक सहयोगमा आयोजना गरिएको सो तालिममा महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा कार्यक्रमको फोकल पर्सन कृष्ण प्रसाद नेपालले यस दुई दिने तालिमले विभिन्न क्षेत्रमा छरिएर रहेका मानव अधिकार रक्षक तथा सीमान्तकृत, दलित र अल्पसंख्यक समुदायहरूको आगामि समयमा आफ्नो क्षमतागत विकास तथा स्थानीय तहले प्रदान गर्ने सेवा सुविधा र विशेष गरी आर्थिक तथा समाजिक अधिकारका सवालहरूमा पैरवी गर्नका लागि मद्दत मिल्ने जानकारी दिनु भयो ।
यसैगरी मानव अधिकार तथा संरचनागत सुधारका विषयहरू स्थानीय सवालहरू र समाजमा रहेको हानिकारक कुप्रथाहरूको अन्त्य गर्नका लागि कार्यरत समुदायिक बाल क्लव, महिला समूह तथा मानव अधिकार समूहलाई आफ्नो कार्य योजना निर्माण र स्थानीय सरकारलाई जवाफदेही बनाई मानव अधिकारमैत्री विकासको अवधारणाको कार्यान्वयन गर्नका लागि समेत महत्वपूर्ण भूमिका रहने उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएका फोरम एशियाका कार्यक्रम अधिकृत प्रज्ञा शाहले कार्यक्रमको उद्देश्य तथा यसले आगामि समयमा संस्थागत रुपमा गर्ने क्षमता विकासका विषयहरूमा प्रकाश पार्नु भएको थियो ।
तालिममा मुख्यतः मानव अधिकारको अवधारणा, विश्व व्यापि घोषणा पत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुन, नेपालको संवैधानिक व्यवस्थासहति स्थानीय समूह, महिला अधिकारकर्मी, दलित र सीमान्तकृत क्षेत्रमा कार्यरत स्वयंसेवक समूहहरूले गर्न सक्ने योगदान र आगामि दिनको कार्य योजनाको बारेमा छलफल गरिने इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताउनु भएको छ ।
तालिमको सहजिकरण, इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा कार्यक्रमका फोकल पर्सन कृष्ण प्रसाद नेपाल, फोरम एशियाका कार्यक्रम अधिकृत प्रज्ञा साह, बरिष्ठ अधिवक्ता तथा मानव अधिकार रक्षक राजकुमार महासेठ, राष्ट्यि महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष तथा अधिवक्ता श्याम कुमारी साह र इन्सेक केन्द्रीय कार्यालयका सहायक अधिकृत बरुण बस्यालले सहजिकरण गर्नु हुनेछ ।

