INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारमैत्री गाउँपालिका बनाउन सरोकारवाला सकारात्मक

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आर्थिक वर्ष २०७८०७९ को बजेट, नीति तथा कार्यक्रममा मानव अधिकारमैत्री बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगरद्घारा गठन गरिएको मानव अधिकार समूहको संयोजनमा असार ६ गते आयोजना गरिएको स्थानीय सरकार र सरोकारवालासँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले वर्ष २०७८०७९ को बजेट, नीति तथा कार्यक्रममा मानव अधिकारमैत्री बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

अध्यक्ष अन्सारीले मानव अधिकार समूहले कोशीको विकास र सुशासनको पक्षमा योगदान गरेको बताउनु भयो । उहाँले मानव अधिकार समूहले गाउँपालिकालाई सुधार गर्नुपर्ने कामका बारेमा सझुाव दिँदै आएको बताउनु भयो ।

अध्यक्ष अन्सारीले आर्थिक वर्ष २०७८०७९ मा आफ्नो बजेट, नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धी कार्यक्रमलाई समावेश गर्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले इन्सेक र मानव अधिकार समू्हले गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल तथा अधिकार सम्बन्धी कार्यक्रम गरेर योगदान गरेको बताउनुभयो । उहाँले समूहको कार्यक्रम र सहकार्यले गाउँपालिकालाई आगामी बजेट, नीति तथा कार्यक्रममा समेत मानव अधिकारमैत्री नीति र बजेट समावेश गर्न ध्यान दिने बताउनुभयोे ।

मानव अधिकार समूहकी सदस्य चन्द्रकला नेपालले गाउँपालिकाको शिक्षा सम्बन्धी सवाल र अधिकारमा नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क भनिएकाले त्यसमा ध्यान दिनुपर्ने तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क कार्यान्वयन गर्नुपर्ने, सरकारको नीति बमोजिम निशुल्क उच्च शिक्षा पाउने हकको सुनिश्चितता गर्नुपर्ने सुझाव दिनु भयो ।

मानव अधिकार समूह सदस्य मुस्ताक आलमले गाउँमा आफ्नो मातृभाषामा शिक्षा पाउने हकलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्य चौकीमा पनि स्यानेटरी प्याडको निशुल्क व्यवस्था गर्नुपर्ने, छात्राहरूको नियमित मदर्शामा पनि विद्यालय झै उपस्थितीको सुनिश्चितताका लागि सेनेटरी प्याडको निशुल्क व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

मानव अधिकारका विषयलाई सक्दो समेट्ने प्रयास गरिने प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताउनु भयो । उहाँले नागरिकका अधिकारलाई प्रत्याभूत गराउन गाउँपालिका कार्यालय प्रतिबद्ध रहेको बताउनु भएको छ ।

Photo 20210620 Sunsari (1) Photo 20210620 Sunsari (2) Photo 20210620 Sunsari (3)

अन्य

भिडियो