इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको सवालमा सञ्चारकर्मीहरुसँग समन्वय बैठक असार १५ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले मानव अधिकारको सवाललाई उठान गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको कार्यान्वयन गराउन र राज्यलाई दवाव दिन इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग, पत्रकार महासंघ जिल्ला शाखा र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले सस्थागत योजना बनाएर सयुक्त अभियान सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो—‘पत्रकारहरुले मानव अधिकार मैत्री समाचार बनाउन मानव अधिकारको दृष्टिकोणबाट लेख्नु पर्ने आवश्यक रहेको छ । कोभिड—१९ दोस्रो लहरका कारण केही पत्रकारहरुले रोजगारी गुमाउनु परेको छ । पारिश्रमिक पनि समयमा नपाउँदा पत्रकारहरु समस्यामा परेका छन् । राज्यले सञ्चारकर्मीहरुका लागि नीति र कार्यक्रम ल्याउन आवश्यक छ ।’
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिव हरी जोशीले सुशासन बलियो बनाउन र नागरिकको सूचना र न्यायमा पहुँच पु¥याउन मानव अधिकारकर्मी र पत्रकारहरुले संस्थागत योजना बनाएर काम गर्नु पर्ने र श्रमजिवि पत्रकार ऐन अनुसार साना लगानीका मिडिया हाउसलाई सञ्चालन गर्न राज्यले मापदण्ड बनाउनु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष हिमाल जोशीले अग्रपङ्तिमा रहेर समाज विकास र मानव अधिकारको सवालमा काम गर्ने पत्रकारहरु नै समस्यामा पर्दा आफूहरुलाई नै पहल गर्न चुनौती रहेको बताउँदै साना लगानीबाट सञ्चालन भएका मिडिया हाउसले कर्मचारी कटौती गर्दा पत्रकारहरुले रोजगारी गुमाउनु परेको बताउनु भयो ।
पत्रकार महासंघ, कैलालीका सचिव तथा पहुरा दैनिकका सम्पादक प्रेम चौधरीले तीनै तहका सरकारको लपर्वाहीका कारण कोभिड—१९ दोस्रो लहर भयावह भएकाले अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको बताउँदै कोभिड—१९ दोस्रो लहरमा जिल्ला प्रशासन कार्यालय, कैलालीले बजार अनुगमन नगर्दा उपभोक्ता मारमा परेको बताउनु भयो ।
सन् २०२१ जनवरीदेखि जुन २८ तारिखसम्म सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा कार्यरत इन्सेक प्रतिनिधिहरुले २ सय ६२ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु सङ्कलन गर्नु भएको र ती घटनाहरुको अन्तिम सम्पादन तथा अद्यावधिक गर्ने कार्य पनि भइरहेको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले समन्वय बैठकमा जानकारी गराउनु भएको थियो ।

