INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको रक्षाका लागि इन्सेकको साथ पाउनु गौरवको कुरा होः उपमेयर बस्नेत

मिथिला नगरपालिकाकी उपमेयर ताराकुमारी बस्नेत लामाले मानव अधिकारको रक्षाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साथ पाउनु गौरवको कुरा भएको बताउनु भएको छ ।

इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामले मङ्सिर ८ गते ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ (इएलपी) परियोजनाको परिचयात्मक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

मिथिला नगरपालिकाकी उपमेयर बस्नेतले मानव अधिकारको रक्षाका लागि इन्सेकको साथ पाउनु गौरवको कुरा भएको बताउँदै इन्सेक अभियानलाई नगरपालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनु भयो ।

नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडा सदस्य दिपक थापाले इन्सेकले यस नगरपालिकामा सञ्चालन गर्न लागेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा हुने कार्यक्रमले आफूहरूलाई समेत ती अधिकारको विषयमा ज्ञान हासिल हुने र स्थानीय तहलाई उल्लेखित अधिकार कार्यान्वयनमा सफलता मिल्ने बताउनु भयो ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखन कार्य मात्र नगरी मानव अधिकार प्राप्तिकोे लागि सचेतनाका साथै बहस पैरवीको पनि काम गरिरहेको बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको सवालमा यस परियोजनाले नगरपालिकासँग समन्वय गरी मानव अधिकारको प्रत्याभूति गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

इन्सेक प्रदेश २ का कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले संविधानले सुनिश्चित गरेको मौलिक हकलाई इन्सेकले स्थापित गराउन परियोजना सञ्चालन गरेको बताउनु भयो ।

परिचयात्मक कार्यक्रमका सहभागीहरूले आउने हप्ता भित्र नगरपालिकाका सबै क्षेत्र र वडाको प्रतिनिधित्व हुने गरी भेला राखेर मानव अधिकार समूह गठन गर्ने निर्णय समेत गरेको छ ।

photo20191124dhanusha (1)

photo20191124dhanusha (2)

photo20191124dhanusha (3)

photo20191124dhanusha (4)

अन्य

भिडियो