नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २४ गते सन्धिखर्कमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले नेपालको मानव अधिकारको अभिलेखिकरण गर्ने भरपर्दो संस्था इन्सेक भएको र इन्सेकले औँल्याएका विषयहरू राज्यले सम्बोधन गर्न सके नेपालमा मानव अधिकारको प्रत्याभूति हुने बताउनु भयो ।
साथै उहाँले सन्धिखर्क नगरपालिकाले आफनो क्षेत्राधिकार अनुसार मानव अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले इन्सेकले आफ्नो अभिलेखलाई भरपर्दो बनाउन समीक्षा कार्यक्रम आयोजना गर्नाले काममा व्यवसायिकता झल्किएको बताउनुभयो ।
उहाँले इन्सेकले गरेको अभिलेखले राज्य र गैराराज्यलाई जिम्मेवार, उत्तरदायी बनाउन सहयोग गर्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका उप–प्रमुख ठाकुरकुमार बिकले आफूले धेरै ठाउँ इन्सेकको वर्ष पुस्ककको तथ्याङ्क स्रोतका रूपमा लिएको बताउनु भयो ।
इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले सन् २०१९ को अवधिमा सङ्कलन गरेका घटनाहरू प्रस्तुत गर्नुभएको थियो ।
यस अवधिमा घरेलु हिंसाका ८४ ओटा, बाल अधिकारका १६ ओटा, बलात्कारका ६ ओटा, अन्य पक्षबाट हत्या चार ओटा गिरफ्तारी ६ ओटा गरी १ सय १६ ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।



