INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारका लागि संघ संस्थाहरूबीच समन्व र सहकार्यको आवश्यक्तामा जोड

Photo 20241116 Dhanusha (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा प्रदेश कार्यालय जनकपुरधाममा ०८१ कात्तिक ३० गते बसेको बैठकमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूले संघ संस्थाका प्रतिनिधिहरूबीच समन्व र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

इन्सेकद्वारा मधेस प्रदेशमा सञ्चालित कार्यक्रमहरूको अनुगमन तथा मुल्यांकनका लागि काठमाडौँबाट आउनु भएका अनुगमन तथा मुल्यांकनकर्ता सुरज आचार्यसँगको बैठकमा अधिकारकर्मीहरूले मानव अधिकारका लागि संघ संस्थाहरूबीच समन्व र सहकार्यतामा जोड दिएका हुन् ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूबीच समन्व र सहकार्य आवश्यक रहेकोले समन्वयात्मक छलफलहरू हुनु जरुरी रहेको बताउनु भयो । मासिक रुपमा बैठक तथा छलफलको माध्यमबाट योजना बनाएर नागरिकको हक अधिकारका लागि कार्य गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

मधेस प्रदेशमा महिलामाथि हुने हिंसाका घटनामा बृद्धि भइरहेकोले घटनाको न्यूनिकरणका लागि अधिकारकर्मी र राज्यका निकाय गम्भीर हुन आवश्यक रहेको पासवानले बताउनु भयो ।

एडभोकेसी फोरमका मधेस प्रदेस संयोजक राजकुमार महासेठले समन्वयात्मक छलफल र बैठकहरूलाई निरन्तरता दिँदै अधिकारकर्मीबीच समन्वय र सहकार्यको माध्यमबाट अधिकारको क्षेत्रमा कार्य गर्नु पर्नेमा जोड दिनु भयो । मानव अधिकार उल्लंघनका घटनामा कमी आए तापनि अपराधिक घटनाहरूमा बृद्धि भएको उहाँले बताउनु भयो ।

आवर संसार संस्थाकी परियोजना व्यवस्थापक सविता पुनले मधेस प्रदेशमा बालबालिकामाथिको हिंसाका घटना बढेर गएको हुँदा त्यस्ता घटनाका पीडितहरूलाई सेफ हाउसमा राखी उनीहरूको शिक्षा र न्यायका लागि इन्सेक जस्तो मानव अधिकार संस्थासँग समन्वय गरी कार्य गरिरहेको बताउनु भयो ।

राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष तथा अधिवक्ता राजेश पासवानले जातीय छुवाछुतका घटना सर्लाहीमा भइरहेको उल्लेख गर्नु हुँदै लोकतन्त्रमा पनि नागरिकबीचमा जातीय भेदभाव र छुवाछुतको घटना हुनु दुःखद भएकोले यस्ता घटना हुन नदिन कानुनको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

महिलाका लागि एकल महिला समूह धनुषाका अध्यक्ष सुभद्रा आलेले युवाहरू दुव्र्यसनी लागेका कारण अपराधिक घटनामा बृद्धि भएको बताउनु भयो ।

निल हिरा समाजका प्रदेश संयोजक प्रदिप यादवले यौनिक तथा अल्पसंख्यक समुदाय मानव अधिकारका घटनामा पीडित भइरहेकाले उनीहरूको अधिकारका लागि मानव अधिकारकर्मीहरूले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

ओरेक मधेस प्रदेश संयोजक विणा सिंहले महोत्तरीमा ओरेकका कर्मचारीमाथि जातीय छुवाछुत, सप्तरीमा यौन दुव्र्यवहार र धनुषामा सुरक्षा थ्रेटका घटनाहरू भएको बताउनु भयो । नागरिकको अधिकारका क्षेत्रमा कार्य गर्ने अधिकारकर्मीमाथि नै हिंसा हुने गरेको कारण अधिकारकर्मीको सुरक्षा आवश्यक रहेको उहाँले बताउनु भयो ।

एम्नेष्टि इन्टरनेशनल नेपाल समूह ५६ को उपसंयोजक जमुना भुजेलले मानव अधिकारकर्मीहरूलाई क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताउनु भयो ।

आफन्त नेपालकी कविता यादवले स्थनीय र प्रदेश सरकार मानव अधिकारप्रति गम्भीर नभएको उल्लेख गर्नुहुँदै नागरिकको अधिकारका लागि दुबै तहको सरकारलाई खबरदारी र जवाफदेही बनाउनु पर्नेमा जोड दिनु भयो ।

छलफलमा माइती नेपालका पुरषोतम यादव र महिला विकास सेवा केन्द्रकी नैनो ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

अन्य

भिडियो