INSEC Online

📅 २०८३ जेष्ठ २२

मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपीआर) को मध्यावधि समिक्षा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रम सम्पन्न

IMG-20230525-WA0026

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ११ गते मानवअधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपीआर) को मध्यावधि समिक्षा सम्बन्धी प्रदेश स्तरीय परामर्श कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अधिकार संगसंगै कर्तव्यको पालना गर्नु पनि हरेक नागरिकको दायित्व भएको बताउनु भयो । उहाँले अधिकार र कर्तव्य दुवै एक सिक्का दुई पाटा भएको हुँदा सबैले पालना गरे मात्र मानव अधिकारको संरक्षण र सम्बद्र्धन हुन सक्ने बताउनु भयो ।

त्यस्तै गरी, सभामुख मण्डलले एउटा मानवले अर्को मानवलाई सम्मान गरेर गौरवान्वित तुल्याउनु नै मानव अधिकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी आफ्नो सम्मान खोज्छौं तर अरुको सम्मान गर्दैनौं, अनि फेरी भन्छौं मानव अधिकारको सम्मान भएन । यो ठूलो विडम्बना हो ।”

सभामुख मण्डलले मानव अधिकारको सवालमा हाम्रो समाज दुई धारमा विभक्त रहेको बताउँदै उहाँले भन्नुभयो, “जसमा धनीले गरिबको सम्मान गर्दैन् वा पुजीपति वर्गले गरिबको सम्मान गर्दैन तर फेरी उसैले आफूलाई सम्मान होस भन्ने चाहन्छ यही हाम्रो समाजमा चलिरहेको छ।”

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मञ्जु खतिवडाले दण्डहीनतालाई प्रोत्साहन गर्ने र अपराधिक कार्यलाई राजनीतिक लेपन लगाउने काम कुनैपनि राजनीतिक दलहरूबाट नहुनु पर्ने बताउनुभयो । उहाँले यस्तो गरिए लोकतन्त्र झनै कमजोर हुने बताउनुभयो ।

खतिवडाले मानव अधिकार, कानुनको शासन र दण्डहीनताको विषय नेपालको मात्रै हैन यस्ता विषयमा अन्तर्राष्ट्रिय जगतले पनि सुक्ष्म दृष्टि लगाइरहेको हुँदा राज्यले यस तर्फ गम्भीर भएर सोच्नु पर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद शारदा देवी थापाले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा महिलाका लागि धेरै नीति र कार्यक्रमहरू भएतापनि कार्यान्वयनमा चुनौती देखिएको बताउनु भयो । उहाँले महिलाले भोग्दै आएका हिंसा, शोषण र विभेदबाट उन्मुक्ति प्राप्त गर्नका लागि सर्व प्रथम शिक्षामा महिलाको पहुँच सुनिश्चित गरिनु पर्ने कुरामा जोड दिनुभयो ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको अध्यक्षता सम्पन्न कार्यक्रममा इन्सेकका कार्यक्रम निर्देशक सम्झा श्रेष्ठले युपीआर सम्बन्धी जानकारी र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

IMG-20230526-WA0021IMG-20230526-WA0005 IMG-20230526-WA0017 IMG_20230525_093542

अन्य

भिडियो