INSEC Online

📅 २०८३ जेष्ठ २१

मध्यबिन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मध्यबिन्दु मानव अधिकार समूहको समन्वयमा मध्यबिन्दु– १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा २०८० मङ्सिर २८ गते कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका– १५ का अध्यक्ष यमबहादुर केसीले मध्यबिन्दु नगरपालिकाबाट फोहोरमैला व्यवस्थापन गर्न लागेको र सो कार्यमा समुदायको सहयोगको आवश्यकता रहेको बताउनुभयो । घर, समुदायबाट निस्कने फोहरमैलालाई नगरपालिकाले खरिद गर्ने गरि योजना बनाएको उहाँले बताउनुभयो । वन तथा वातावरण संरक्षणमा नगरपालिकाले चासो दिएको र समुदायमा संरक्षण सम्बन्धि सचेतना आवश्यक रहेको उहाँको भनाई छ । नगरपालिकामा वन तथा वातावरण समिति गठन गरिएको र वातावरण सम्बन्धि काम गर्ने कर्मचारी व्यवस्थापन गर्नुका साथै शाखा कार्यालय बनाउन कार्यपालिकामा पहल गर्ने उहाँले बताउनुभयो ।

मध्यबिन्दु मानवअधिकार समूहका सदस्य रामप्रसाद भट्टराईले सबै पक्ष लागेर वातावरण संरक्षण गर्न साथै वातावरणको अधिकार सम्बन्धि जानकारी प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मानव अधिकार समूहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण अधिकार  तथा जातीय विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानवअधिकारको रक्षाका लागि काम गरिरहेको भट्टराईले बताउनुभयो ।

कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टीकाराम पाण्डेले वातावरण संरक्षण गर्नका लागि नगरपालिकामा वन तथा वातावरण शाखाको माग गरेको बताउँदै मानव अधिकार समूहद्वारा नगरपालिकाको ध्यानाकर्षण गराइदिन आग्रह गर्नुभएको थियो । वातावरणमा अधिकार प्राप्ति तथा फोहोरमैला व्यवस्थापनका  लागि सामुदायिक वनहरु सहकार्यका लागि तयार रहेको उहाँले बताउनुभयो ।

कार्यशालामा दिपक शर्माले वातावरण संरक्षण र अधिकार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । वातावरण संरक्षणका लागि स्थानीय तहमा गर्नुपर्ने कामको समेत उहाँले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका व्यवस्थापन  शिक्षक अभिभावक संघका अध्यक्ष पिताम्बर पाण्डे ,प्रधानाध्यापक टोकबहादुर सुनारी, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि,सहकारीका प्रतिनिधि लगायत शिक्षक, विद्यार्थी, मानव अधिकार समूह तथा बाल अधिकार समूहका सदस्यको  सहभागिता रहेको थियो ।

 

अन्य

भिडियो