अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले वैशाख १२ गते स्थानीय तह निर्वाचन, मतदाता शिक्षाको बारेमा सितगङ्गा नगरपालिका-४, ठाडाका दलित समुदायसँग छलफल गरेको छ ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरलेले स्थानीय तहको निर्वाचन, स्वच्छ, निष्पक्ष, र शान्तिपूर्ण बनाउन अभियान चलाएको बताएपछि स्थानीयहरू उत्साहित भएका थिए ।
क्षेत्रीय संयोजक खकुरेलले भने-‘सबै राजनीतिक दलहरूले विभिन्न बहाना र आश्वसनमा दलित समुदायसँग भोट किन्ने प्रयास गरी मतलाई प्रभाभित पार्न सक्छन । भोट दिने कुरामा तपाईहरू स्वतन्त्र हुनुहुन्छ तर भोट दिँदा पछाडि पारिएका समुदायलाई सम्मान गर्ने व्याक्ति वा राजनीतिक दललाई भोट हाल्नु होला ।’

सितगङ्गा नगरपालिका-४ का भरत बिकले भने-‘हामीसँग धेरै राजनीतिक दलका नेताहरू भोट माग्न आए । तर, कसैले पनि भौतिक पूर्वाधारबाहेक अन्य पछाडि पारिएका समुदायको अधिकार सुनिश्चत हुने सम्मान गर्ने खालको योजना लिएर आएनन् ।’
‘हामीले धेरै पटक दलित अगुवालाई जिताएर पठायौँ । तर, कसैलेपनि पछाडि पारिएका समुदायको वा व्याक्तिको परिर्वतनको लागि काम गरेनन् ।’- सितगङ्गा नगरपालिका-४ कै उमा नेपालीले भनिन् ।

‘हामी महिला त्यसमा पनि दलित महिला हामीलाई संविधान दिएको अधिकारको त राजनीतिक दलले दिन तयार हुँदैनन् । अहिलेको निर्वाचनमा पनि कानुनी रूपमा व्यवस्था नगरेको भए हरेक वडामा एक दलित महिला अनिवार्य नभनेको भए कुनै राजनीतिक दलले उम्मेदवार बनाउने थिएनन् ।’-राधा नेपालीले भनिन्-‘हामीलाई राजनीतिक दलले चुनावमा मात्रै प्रयोग गर्छन एकै दिनमा तीन चार जना भेट्न आउँछन अनेक प्रलोभन देखाउँछन ।’ यस्तो अवस्थामा इन्सेकले सञ्चालन गरेको यो अभियानले सही मार्ग पहिल्याउन सहयोग गर्ने उनले बताइन् ।

उनले भनिन्-‘अब हामी राजनीतिक दलका उम्मेदवारलाई प्रश्न गर्ने छौँ । तपाईँसँग महिला, दलित र पछाडि पारिएका समुदायका लागि सम्मान गर्ने के योजना छन् ?’
नारायणप्रसाद भुसाल