अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा आयोजित भूकम्पपछि पुनःनिर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ४ गते चौतारा सागाचोकगढी नपा-७ मा सम्पन्न गरिएको छ ।
सार्वजनिक कार्यक्रममा अधिकांश सहभागीहरूले सरकारद्वारा दिने भनिएको सहुलियत ब्यजदरको ऋण सबै भूकम्प पीडितलाई दिनुपर्ने माग गरे ।

भूकम्प पीडित डिल्लीप्रसाद लामिछानेले भूकम्प पीडितालाई ढुङ्गामाटोको गाह्रो लगाएर घर निर्माण गर्दा पनि नक्सा बनाउनु पर्ने बाध्यता बनाएको गुनासो गरे ।
ताराबहादुर श्रेष्ठले भूकम्प पीडितलाई थप ३ लाख सहुलियत ब्याज दरमा दिने भनिएको ऋणको प्रक्रियाबारे आफूले जान्न चाहेको बताए । पुनःनिर्माणसम्बन्धी सहयोगी भूमिका निर्वाह गरेको संस्था जाइकाका प्रतिनिधि तथा इञ्जिनियर उमेश ज्ञवालीले आफूहरूले भूकम्प पीडितलाई प्राविधिक सहयोग गरिरहेको बताए ।

त्यसैगरी जिल्ला आयोजना कार्यालय इकाई तथा पुनःनिर्माण प्राधिकरणका इञ्जिनियर पशुपति भूसालले सरकारको नीति र कार्यक्रमको अधिनमा रहेर आफूले भूकम्प पीडितहरूलाई सहज ढङ्गले राहतको लागि सिफारिस गरेको बताए ।

सागाचोकगढी नपा-७ का वडाध्यक्ष उमाप्रसाद दुलालले भूकम्प पीडितलाई सरकारी निकायबाट प्रदान गरिने सबै सुविधा छिटोभन्दा छिटो उपलब्ध गराउने प्रतिबद्धता गरे ।
नातिबावु धिताल