भानु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ९ गते आयोजित मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा उपस्थित सरोकारवालाहरूले अधिकार र कर्तव्य एक अर्काको परिपुरक भएको हुँदा यी दुईलाई सँगसँगै हिँडाउनु पर्ने बताएका छन् ।
इन्सेकले आगामी तीन वर्ष भानु नगरपालिकामा सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रमको बारेमा सरोकारवालाहरूलाई जानकारी गराउने र कार्यक्रम सञ्चालनको लागि मानव अधिकार समूह गठन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै भानु नगरपालिकाका मेयर उदयराज गौलीले अधिकारको माग दावी गर्न आउने नागरिकले आफ्नो कर्तव्य पनि भुल्न नहुने भन्नुभयो ।
संविधानले नागरिकका अधिकार र कर्तव्यको बारेमा प्रष्ट उल्लेख गरेको भन्दै मेयर गौलीले मौलिक हकको कार्यान्वयन भएमा नै मानव अधिकारको प्रत्याभूति हुने, जनता शिक्षित भएमा पनि उनीहरू आफ्नो अधिकारको मागदावी गर्न सक्ने आशा व्यक्त गर्नुभयो ।
स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गरिने कार्यक्रममा नगरपालिकाको पुर्ण सहयोग रहने भन्दै उहाँले ग्रामीण क्षेत्रका टोलटोलमा यस्ता जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
वडा नम्बर ९ का अध्यक्ष निलम सञ्जिवा श्रेष्ठले नगरपालिकाले दलित, जनजाती, अल्पसङ्ख्यक, महिला र बालबालिकालगायतका लक्षित वर्गलाई विशेष प्राथमिकता दिएको हुँदा उक्त परियोजनाले त्यस क्षेत्रलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले कुरिती, कुप्रथा र अन्धविश्वासलाई हटाउने खालको जागरणका कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले संविधानले मौलिक हकको रूपमा प्रत्याभुत गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको बारेमा स्थानीय नागरिकलाई सचेत बनाउने र सेवाप्रदायकलाई जिम्मेवार र जबाफदेही बनाउन उक्त परियोजना सञ्चालन गरिएको भन्नुभयो ।
सो कार्यक्रममा १३ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ । समूहको संयोजकमा कृष्णराज धमनीया र सदस्यहरूमा तलुसी गैरे, सिता अधिकारी, रामबहादुर ढकाल, विष्णुकमारी श्रेष्ठ, रूक्मिणी खनाल, पम्फा थापामगर, शोभा पन्त, सञ्जिता घिमिरे र शान्ती परियार रहनुभएको छ ।
बाँकी तीन सदस्य र सल्लाहकार समूहको पहिलो बैठकमा चयन गर्ने समूहका संयोजक धमनीयाले बताउनु भयो ।




