INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्ज्वलन

बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेश, एड्भोकेसी फोरम, मानव अधिकारका लागि महिला एकल महिला समूह, सहकर्मी समाज, नेपाल रेडक्रस सोसाइटी सुर्खेत लगायतका संस्थाको आयोजनामा ०८१ भदौ १४ गते वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्र चोकमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको हो ।

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घको महासभाले बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै यो दिवस अन्तर्राष्ट्रिय स्तरमा मनाउने गरिएको संयोजक सुवेदीले बताउनु भयो ।

दीप प्रज्ज्वलन कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बेपत्ता पारिएकाहरूलाई उच्च सम्मान प्रकट गर्नुभयो । त्यस्तै बेपत्ता परिवार समाज सुर्खेतका अध्यक्ष शान्ति ढकालले शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा पनि बेपत्ता पारिएकाहरूको सास र लास नपाउँदा पीडामाथि पीडा थपिएको गुनासो गर्नुभयो । उहाँले देश सङ्घीय गणतन्त्रमा गइसक्दा समेत बेपत्ता पारिएकाहरूको विषयमा राज्य र आयोगले गम्भीर रुपमा नलिएको भन्दै १८ वर्षमा बल्ल विधेयक ल्याएको बताउनु भयो ।

कार्यक्रममा बेपत्ता बनाइएका व्यक्तिका आफन्त, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापा, मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगाल, सहकर्मी समाज सुर्खेतका कार्यक्रम संयोजक नविना गिरी, रेक्रस सोसाइटीका सभापति रामलाल आचार्य लगायतका सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको समेत उपस्थिति रहेको थियो ।

Photo31082024Surkhet13

Photo31082024Surkhet2

Photo31082024Surkhet1

अन्य

भिडियो