देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् ।
कालिका माध्यमिक विद्यालयको संयोजनमा कालिका बाल अधिकार समूह, कालिका बाल क्लब, कालिका रेडक्रस समूह र कालिका साइन्स क्लबको सहभागितामा लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत बृहत र्याली निकालिएको हो ।
देवचुली – ९ का विभिन्न टोलहरूमा सचेतनामूलक प्लेकार्ड सहित विद्यार्थी, शिक्षक र सरोकारवालाहरू र्यालीमा सहभागी थिए । लैङ्गिक हिंसा अन्त्य गरौं, बाल विवाह अन्त्य गरौँ, जातीय विभेद अन्त्य गरौँ, बाल अधिकार सुनिश्चित गरौँ लगायतका नारासहितको प्लेकार्ड लिएर गाउँगाउँमा र्यालीका माध्यमबाट सचेतना प्रवाह गर्ने काम गरिएको विद्यालयका प्रधानाध्यापक रेशम कोइरालाले जानकारी दिनुभयो ।
र्यालीका माध्यमबाट समुदायमा सचेतनाका लागि सहयोग पुग्ने देवचुली – ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । सचेतनामूलक अभियानका लागि विद्यालयलाई आगामी दिनमा समेत वडाले सहयोग गर्ने उहाँले बताउनुभयो ।
र्यालीमा देवचुली – ९ का वडा अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य मधुमाया गुरुङ, कालिका माविका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम प्रधानाध्यापक रेशम कोइराला, देवचुली ९ का वडा सदस्यहरू लगायत शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

