INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहका सदस्यहरुका लागि क्षमता अभिवृद्धि तथा परियोजना समीक्षा कार्यक्रम सम्पन्न

अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले बाल अधिकार सचेतना समूहको सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि र परियोजना समीक्षा कार्यक्रम ०८२ जेठ २३ गते नेपालगञ्जमा सम्पन्न गरेको छ। कार्यक्रमले बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि ज्ञान र नेतृत्व क्षमतामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

Photo 2025-06-07 Banke (4)

कार्यक्रममा बाँके र कपिलवस्तु जिल्लाका आठ  वटा विद्यालयका बाल अधिकार सचेतना समूहका सदस्यहरूले भाग लिएका थिए। तालिममा बाल अधिकार के हो, बाल अधिकार समूहले के कस्ता कार्य गर्न सकिन्छ, ध्यानाकर्ष पत्र, ज्ञापन पत्र कसरी लेख्ने र सरोकारवाला को को हुन सक्छ, परियोजनाले व्यक्ति तथा विद्यालयमा ल्याएको परिवर्तन जस्ता विषयवस्तुलाई समेटेर विभिन्न विषयवस्तुसँग सम्बन्धित खेल, छलफल, सामुहिक कार्य पावरपोइन्ट प्रस्तुतीकरण विधिबाट सहजीकरण गरिएको थियो ।

दुई दिने कार्यक्रममा समूहका सदस्यहरूले बाल अधिकारका बारेमा ज्ञान प्राप्त गरेसँगै नेतृत्व विकासमा टेवा पुर्‍याउनुका साथै आगामी दिनमा समूहलाई निरन्तरता दिन सक्षम बनाउने इन्सेक डिसीए कार्यक्रम अधिकृत टेकनाथ आचार्य बताउनु भयो ।

Photo 2025-06-07 Banke (2)

बाल अधिकार समूहका सदस्यहरुले विद्यालय/समुदायमा सडक नाटक, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला, भित्रेपत्रिका प्रकाशन र भर्ना अभियानका बारेमा कार्यक्रम सञ्चालन गरेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी संरक्षक शिक्षक शिला श्रेष्ठले बताउनु भयो ।

मिरमिरे बाल अधिकार सचेतना समूहकी सदस्य सुशीला बुढाले आफ्नो विद्यालयमा फोहोर व्यवस्थापन र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरेको बताइन्। यसैगरी, जानकी मावि बाँकेमा गठित बाल अधिकार सचेतना समुहका सचिव दिपेश यादवले विद्यालयमा शौचालय, खानेपानी र सरसफाईको व्यवस्था सुधार भएको अनुभव सुनाउनु भयो।

Photo 2025-06-07 Banke (3)

कपिलवस्तु मायादेवी गाउँपालिका छत्रपालि माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहकी सदस्य माधुरी कुर्मीले समूहले नेतृत्व र हकहितका विषयमा बोल्न सक्ने क्षमता विकास गरेको उल्लेख गरिन्।

कार्यक्रममा बाल अधिकारको महत्व, कार्यशैली र सामाजिक परिवर्तनका उपायहरू समेटिएको थियो। सहभागीहरूले आफ्ना अनुभवहरू साझेदारी गर्दै बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी तथा सामाजिक अभियान्ता प्रकाश उपाध्यायले गर्नु भएको थियो ।

Photo 2025-06-07 Banke (1)

अन्य

भिडियो