INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छः सभापति खत्री

कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले बाल अधिकार संरक्षणमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण रहने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ जेठ १३ गतदेखि सुर्खेतमा बाल अधिकार समूहका सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘बाल अधिकार संरक्षणमा नीति तथा कार्यक्रम र योजना ल्याउन तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छ । बालबालिकाका हकहितका सवालमा समाज, अभिभावक र नागरिक समाज संस्थाहरूबिच समन्वय हुनु अत्यावश्यक छ’ – उहाँले भन्नुभयो ।

Photo27052025Surkhet4

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले बालबालिकालाई सुरक्षित वातावरण दिन समाजको भूमिका निर्णायक रहेको बताउनु भयो । ‘समाजमै बाल अधिकार उल्लङ्घनका घटना भइरहेका छन् । बालश्रम लगायतका समस्या अझै बढिरहेका छन् । त्यसलाई न्यूनीकरण गर्न यस्तो खालका तालिम उपयोगी हुन्छन्’ – उहाँले भन्नुभयो ।

जिल्ला बार एशोसियसन सुर्खेतका सदस्य अधिवक्ता गीता कोइरालाले बाल अधिकार र नेतृत्व विकासका सवालमा यस्ता तालिमले सहयोग पुर्याउने बताउनु भयो । ‘तालिम मार्फत बालबालिकासम्बन्धी कानुनी ज्ञान प्रदान गरिनु आवश्यक छ । कानुनको जानकारी नै अधिकार सुनिश्चित गर्ने मूल आधार हो’ – उहाँले भन्नुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बाल अधिकार समूहका सदस्यहरूलाई सशक्त बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो । ‘हामीले स्थानीय तहमा बाल अधिकार समुह गठन गरेका छौँ । समूहका सदस्यहरू आफू बसेको स्थानमा बालबालिकाको समस्या पहिचान र समाधानमा सक्रिय होउन् भन्ने हाम्रो उद्देश्य हो । यो तालिमले कोसे ढुङ्गा साबित गर्ने अपेक्षा छ’ – उहाँले भन्नुभयो ।

Photo27052025Surkhet

०८२ जेठ १३ र १४ गतेसम्म सञ्चालन हुने तालिममा सुर्खेत र दैलेखका आठ विद्यालयबाट ३२ जना बाल अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको छ । सहभागीलाई बाल अधिकार, बालश्रम, मानव अधिकार, कानुनी प्रक्रिया र प्रभावकारी समुह सञ्चालन, नेतृत्व विकास, भित्ते पत्रिका प्रकाशन, वातावरण संरक्षण बालमैत्री विद्यालय, लैङ्गिक हिंसा, महिला तथा विभेद विरुद्धको अधिकारका बारेमा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिइने इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन ललिता विकले जानकारी दिनुभयो ।

Photo27052025Surkhet1 Photo27052025Surkhet3 Photo27052025Surkhet5

अन्य

भिडियो