अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने बाल अधिकार तालिम सम्पन्न भएको छ ।

भदौ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको बाल अधिकार तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ ओटा विद्यालयका २४ जना बालबालिकाको सहभागिता रहेको थियो ।
तालिममा बाल अधिकार, शिक्षाको अधिकार, बाल अधिकारको वर्तमान अवस्था, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम शोषणः कारण र परिणाम, बाल अधिकार चेतना समूहका काम कर्तव्य र विद्यालयमा रहेका समस्याहरूको पहिचानलगायतका विषयमा छलफल भएको थियो ।
तालिममा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक खड्कराज जोशी, प्रलेख अधिकृत कृष्णबहादुर बिक, कार्यक्रम संयोजक दिलबहादुर चौधरी, एडजस नेपालका अध्यक्ष चित्रा पनेरू र सिविन नेपालका क्षेत्रीय संयोजक माधव लोहनीले सहजीकरण गरेका थिए ।
बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धिहरू बनिसकेको भएपनि व्यवहारिक रूपमा कार्यान्वयन गर्न जरूरी रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू कार्यन्वयन भएको अवस्थामा मात्रै बाल अधिकार सुनिश्चित हुने इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले बताए ।
तालिमको समापनमा सहभागिहरूको तर्फबाट बोल्दै संगिता भाटले बाल अधिकार र बालबालिकाका काम कर्तव्य बारे जानकारी प्राप्त भएकोले यसपछि विद्यालयमा आफ्नो कर्तव्य पूरा गर्ने र आफूले सिकेका विषयमा बाल अधिकार चेतना समूहका अन्य सदस्यहरूलाई पनि जानकारी गराई समग्र मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
रविना चौधरी