प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १८ गते जनकपुरधाममा आयोजित बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिममा उनले सो कुरा बताएका हुन् ।
खासगरी तराई मधेसमा डाक्टर, इञ्जिनियर मात्र पढ्ने गरेकोले सबै क्षेत्रमा हात हाल्न बालबालिकाहरूलाई झाले सुझाव दिए ।
प्रदेश सरकारले तराई मधेसका बालबालिकाको भविष्यको लागि कानुनहरू निर्माण गरिरहेको बताउँदै उनले सबै क्षेत्र पुग्ने गरी रोजगारीको सृजना हुने उल्लेख गरे ।
प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक ल्याएकोले अब दलितका छोरा छोरीहरूलाई पिएचडीसम्मको अध्ययनका लागि प्रदेश सरकारले पूर्ण छात्रवृति दिने व्यवस्था गरेको उनले बताए ।
बालबालिकालाई माया गरेर शिक्षा दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका निर्देशक वीरबहादुर बुढामगरले बताए ।
नेपालले बाल अधिकार महासन्धि, राष्ट्रिय कानुनमार्फत बाल अधिकारको सुनिश्चितता गरेको निर्देशक बुढामगरले बताए ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बाल अधिकारको विषयवस्तुलाई दुई दिनसम्म बालबालिकाहरूको बीच तालिमको माध्यमले जानकारी दिइएको बताए ।
बालबालिकाहरूले पाउने सेवा सुविधा, विद्यालयमा गरिने व्यवहार लगायतका विषय तालिममा समेटिएको संयोजक पासवानले बताए ।
विनोद कुमार रविदास