जिल्लाका बाढीपीडित र सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले पुस ७ गते वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकारको अवस्था तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बाढीपीडित र सुकुम्बासीहरूको आवासको अधिकारमा जोड दिनुृभएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नपा–११ का वडाध्यक्ष नन्दलाल शर्माले ०७१ साउन महिनामा बाढीले घरबास गुमाएका जिल्लाका एकसय ५० बढी बाढीपीडित परिवार र वीरेन्द्रनगर नपामा रहेका सुकुम्बासीहरूको आवासको अधिकार सुुनिश्चित गर्न सरोकारवाला सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।
भौतिक पुर्वाधार निर्देशनालय, सुर्खेतका सब इन्जिनियर रामचन्द्र बिसीले बाढी पीडित र सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चितताका लागि कार्यालयले आवश्यक योजना बनाई अघि बढ्ने बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका कृषि शाखा प्रमुख हेमराज केसीले नगरभित्र रहेका सुकुम्बासी तथा बाढीपीडितहरूको आवास निमार्णमा नगरपालिकाले तयारी गरिरहेको बताउनुभयो ।
भुमि अधिकार मञ्च, कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र शर्माले भुमिहीनहरूका लागि आवासको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार र स्थानीय तहले उचित कदम चाल्नुपर्ने बताउनुभयो ।

