बलात्कार घटनाका पीडित दुई जना बालिकाहरूको परिवारलाई न्यायमा सहजीकरण गर्न इन्सेकले १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
बालिकाका आफन्तलाई जिल्ला प्रहरी कार्यालय मार्फत इन्सेक प्रतिनिधिले पुस ९ गते आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । मङ्सिर ३० गते १२ र १३ वर्षका दुई जना बालिकालाई मालिका गाउँपालिका–४, अर्खबाङ्गका १८ वर्षीय छबबहादुर घर्तिले सदरमुकामको एक होटलमा चाउमिन खुवाउने प्रलोभनमा लगेर बलात्कार गरेर फरार रहेका थिए । मङ्सिर ३० गते बालिकाहरूको अवस्था इन्सेककर्मीले थाहा पाएपछि न्यायमा सहजीकरणको काम अगाडि बढेको थियो ।
दुई जनामध्ये १३ वर्षीया बालिकाको अवस्था दर्दनाक अवस्थामा फेला परेपछि इन्सेककै पहलमा ०८१ मङ्सिर २ गते उजुरी दर्तासहित आरोपित गिरफ्तार भएका थिए । अनुसन्धानपछि घर्ति पुस ८ गते जिल्ला अदालत गुल्मीबाट पुर्पक्षको लागि कारागार चलान भएको थियो । बालिकाको गुल्मी अस्पताल, तम्घासमा नियमित स्वास्थ्य परीक्षण भइरहेको छ ।