बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
पुनर्वास नगरपालिका–१० की १२ वर्षीय बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित पक्षले मानव अधिकार सहायता कक्षमा निवेदन दिनुभएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
पीडित बालिकालाई ०८० मङ्सिरदेखि ०८१ साउन २८ गतेसम्म सोही ठाउँका ६५ वर्षीय डम्मरलाल चौधरीले पटकपटक बलात्कार गरेको भन्दै पीडित बालिककी दिदिले ०८१ भदौ २५ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्ती, कञ्चनपुरमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाको स्वस्थ्य परीक्षण भदौ २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।