INSEC Online

📅 २०८३ जेष्ठ २१

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको दिवसको अवसरमा दिप प्रज्ज्वलन

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा द्वन्द्व पीडित तथा नागरिक अगुवाहरुले म्याग्दीको बेनीमा ०८१ भदौ १४ गते दिप प्रज्ज्वलन गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका पाँच संघसंस्थाहरुले बेनी नगरपालिकामा दिप प्रज्ज्वलन गरेका हुन् । २०६० चैत ७ गते म्याग्दी आक्रमण हुँदा दोहोरो भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको खम्बाको अगाडी गरिएको दिप प्रज्ज्वलनमा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछाने लगायतको सहभागिता रहेको थियो ।

Photo20810514 Magdi

बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर, बलपूर्वक बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर, आत्मसम्मान सहितको परिपूरण सुनिश्चित गर, स्वतन्त्र र शक्तिशाली आयोग गठन गर भन्ने नारा सहितको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२४ को अवसरमा बेपत्ता पारिएका नागरिकको सम्झनामा आयोजित दिप प्रज्ज्वलन इन्सेक, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, नागरिक आवाज, अपाङ्गता भएका द्वन्द्वपीडित राष्ट्रिय सञ्जालले आयोजना गरेको थियो ।

२०५२ साल फागुन १ गतेबाट तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका समयमा राज्यका सुरक्षा निकाय तथा तत्कालीन युद्धरत नेकपा(माओवादी)बाट समेत गरी झण्डै १ हजार ५ सयको हाराहारीमा मानिस बेपत्ता पारिएको विभिन्न मानव अधिकारवादी संस्थाहरुले तथ्यहरु सार्वजनिक गरेका थिए । आइसिआरसीद्वारा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार १ हजार ३ सय ४७ जना व्यक्तिहरु अझै पनि बेपत्ता नै छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा बेपत्ताको झण्डै ३ हजारको उजुरी परेको थियो । यसलाई आधार मानेरै हेर्ने हो भने पनि बेपत्ता कति छन् भनेर एकीन गर्न सकिने अवस्था अहिले पनि छैन ।

 

अन्य

भिडियो