अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा जेठ २५ गते प्रादेशिक वार्षिक समीक्षा तथा योजना बैठक धनगढीमा सुरू गरिएको छ । बैठक २६ गते सकिनेछ ।

इएलपी र जीएफ कार्यक्रम अन्तर्गत आयोजित समीक्षा बैठकमा डडेल्धुरा, डोटी, कञ्चनपुर र कैलालीका जिल्ला सहजकर्ता र इन्सेक, धनगढी कार्यालयका इएलपी र जीएफ कार्यक्रमका फोकल पर्सन दिलबहादुर चौधरीले हालसम्म सम्पन्न गरिएका गतिविधि, मुख्य उपलब्धि, सिकाइ तथा सुझाव र चुनौतीहरू प्रस्तुत गरेका थिए ।
बैठकमा जिल्ला सहजकर्ता र जिल्ला प्रतिनिधिहरूले प्रस्तुत गरिएका कार्य विवरण राम्रो रहेतापनि अझ मेहनतका साथ आआफ्नो कार्यप्रति जिम्मेवार बन्नुपर्ने इन्सेक धनगढी कार्यालयका संयोजक खडकराज जोशीले बताए । उनले सबैलाई आफ्नो कार्यको प्रगति विवरण समयमा पठाएर कार्य सम्पादनमा सहयोग गर्न आग्रह गरेका थिए ।
बैठकमा फोकल पर्सन चौधरीले क्रियाकलापको तुलनामा सफलताका कथा, कार्यक्रम प्रभावकारी भएको सहयोगी कागजातसहित प्रगति विवरण बनाउन सल्लाह दिएका थिए ।
सहभागीहरूले अगामी बर्षका लागि कार्यक्रम संरचना बनाउदा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालहरूलाई स्थानीय तहका मुद्दाका रूपमा उठान गरी समस्या समाधान गर्ने र नागरिक अधिकार सुनिश्चितता हुने किसिमका कार्यक्रम बनााउन सुझाव दिएका थिए ।

रविना चौधरी