अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा प्रदेश स्तरिय बाल अधिकार सञ्जालको पुस २० गते अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य लक्ष्मी मावि , यशोधरा मावि र मायाँदेवी गाउँपालिकास्थित छत्रपाली तिर्थादेवी मावि र जनाता मावि बलुहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहका अध्यक्ष तथा सदस्यहरू , विद्यालयका प्रधानाध्यापक र बाल संरक्षक शिक्षकहरू बिच अनुभव आदान प्रदान तथा अन्तरक्रिया तौलिहवामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपसचिव हरिप्रसाद ज्ञवालीले सकारात्मक सन्देशका लागि इन्सेकले विद्यालय स्तरिय बाल अधिकार चेतना समूह गठन गरि उदाहरणीय कार्य गर्दै आएको बताउनु भयो ।
ज्ञवालीले विद्यार्थीहरूलाई अवसर दिए विद्यालयदेखि नै परिवर्तन ल्याउन सक्ने बताउँदै समूहले सिकेको ज्ञानहरू विद्यालयका अन्य विद्यार्थीहरूलाई समेत सिकाउन आग्रह गर्दै विद्यालयलाई गुणस्तरिय बनाउन शिक्षक , विद्यार्थी , विद्यालय व्यवस्थापन समिती र अभिभावक सबै जिम्मेवार हुनुपर्नेमा जोडभयो ।
यसैगरी, यशोधरा माविका प्रधानाध्यापक बिनोदकुमार गुप्ताले बालबालिकाहरूको अन्तर निहित प्रतिभालाई बाहिर ल्याउन इन्सेकले महत्वपूर्ण सहयोग गरेको बताउनु भयो । विद्यालयमा केही समस्या भए भन्न सक्ने र स्थानियतह सम्म पुगेर आफ्नो अधिकारको बिषयमा बोल्न सक्ने भएको गुप्ताको भनाई छ ।
यस्तै छत्रपालि तिर्थादेवी माविका प्रधानाध्यापक नरेन्द्रबहादुर चौधरीले समूह गठन पश्चात विद्यालयमा परिवर्तन आएको बताउनु भयो । विद्यार्थीहरू विद्यालय स्तरिय विभिन्न अतिरिक्त गतिविधिहरूमा चासो दिनुको साथै सरसफाईमा ध्यान दिन थालेको बताउनु भयो ।
रत्नराज्य लक्ष्मी माविका बाल संरक्षक शिक्षक रामशरण चौधरीले इन्सेकले बाल अधिकार चेतना समूहले विद्यालयको सरसफाई लगायतका इन्सेकले मार्गदर्शन गरेको बताउनु भयो ।
बैठकमा बाल अधिकार प्रदेश सञ्जालका अध्यक्ष तथा छत्रपाली तिर्थादेवी माविमा इन्सेकद्वारा गठित बालअधिकार चेतना समूहका अध्यक्ष राजकुमार धोवीले बाल अधिकार समूहले विद्यार्थीहरूको क्षमता बृद्धि भएको , आफ्ना हक अधिकारको बिषयमा जानकारी प्राप्त गरि सम्बन्धित निकायसँग माग गर्न सक्ने भएको बताउनु भयो ।