अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा तथा छलफल कार्यक्रम ०८१ असार १६ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार अभियानमा जोडेर कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रमको मुल्याङकन गरी, कार्यक्रमको उपलब्धी, चुनौती, समस्या, सिकाई र विकल्प सहितको सुझाव दिन आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो— ‘इन्सेक एउटा अभियान हो । यस अभियानले राज्यले वेवास्ता गरिरहेका समुदायमा देखिएका स—साना समस्यालाई मानव अधिकारसँग जोडेर मानव अधिकार समूहले उजागर गरी नागरिकको मानव अधिकार संरक्षणका लागि पहल गर्नु पर्छ । राज्यलाई जवाफदेही बनाउनु पर्छ ।’
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकार समूहले सस्थागत रुपमा स्थानीय तहमा दर्ता भई दिगो रुपमा मानव अधिकार अभियानलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।
लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहका संयोजक सोमनाथ रानाले मानव अधिकार अभियानलाई निरन्तताका लागि समूहलाई स्थानीय तहमा दर्ता गरी कार्यक्रम सञ्चालन गर्न बजेटका लागि पहलभइरहेको बताउनु भयो ।

घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुहकी संयोजक आशा परियारले नागरिकको शिक्षा, स्वास्थ्य तथा वातावरणको अधिकारका बारेमा स्थानीय सरकारलाई ध्यानाकर्षण गर्दै आइरहेको बताउनु भयो ।
बेलौरी नगरपालिका स्तरिय मानव अधिकार समुहकी सचिव कमला चौधरीले मानव अधिकार समुहलाई सकृय र कृयाशिल बनाउन समूह पुनर्गठन गर्नु पर्ने बताउनु भयो । समीक्षा कार्यक्रममा इन्सेक कैलाली र कञ्चनपुर जिल्ला सहजकर्ताहरुले एक वर्षको अवधिमा सम्पन्न गर्नुभएका गतिविधि,उपलब्धीहरु, चुनौती तथा सुझाव सहित प्रस्तुती गर्नुभएको थियो ।
