कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेकलाई चयन गरिएको छ ।
मानवअधिकारवादी संस्थाको तर्फबाट इन्सेकलाई सदस्यका रूपमा चयन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्काको नेतृत्वमा गठन गरिएको प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेक चयन भएको हो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य र महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीको उपस्थितिमा ०८१ चैत २४ गते विराटनगरमा कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।
नेटवर्कको सदस्य सचिवमा पत्रकार महासंघ कोशीका महासचिव हिमा चेम्जोङ, सदस्यहरुमा नेपाल नगरपालिका संघ, नेपाल गाउँपालिका संघ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग कोशी, प्रदेश योजना आयोग, प्रदेश प्रहरी कार्यालय, प्रदेश गैरसरकारी संस्था महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी र उच्च अदालत विराटनगर वार इकाइ छन् ।
नेटवर्कले मानव अधिकार रक्षक तथा पत्रकारलाई जवाफदेहिता, जनउत्तरदायित्व र समाजका इमानदार पहरेदारको भूमिका निर्वाहका लागि निगरानी तथा सहजीकरण गर्ने नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले बताउनु भयो । उहाँले मानव अधिकार रक्षक, पत्रकार र पत्रकारिता क्षेत्र तथा अभिव्यक्ति स्वतन्त्रता, मिडिया हाउसमाथि आउने जस्तोसुकै समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले नेटवर्क गठन गरिएको बताउनु भयो ।
यूरोपियन यूनियनको सहयोग र इन्टरनेशनल अलर्टको प्राविधिक सहयोगमा सञ्चालित लोकतन्त्रको सुदृढीकरणः नागरिक संलग्नता, नागरिक आवाज र जवाफदेहिता परियोजना अन्तर्गत कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो ।