कथित बोक्सी घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ पुस ११ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
भजनी नगरपालिका—१ गौनैयाकी ३० वर्षीया महिलालाई उपचार र न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग रकम प्रदान गरेको हो ।
पीडित महिलाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार र न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा पीडित पक्षले निवेदन दिनुभएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पीडितहरुले उपचार तथा न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
भजनी नगरपालिका—१ गौनैयाका २५ वर्षीय मनोज चौधरी, ५५ वर्षीय बाबुराम चौधरी, ३८ वर्षीय लहानु चौधरी, २९ वर्षीय करन चौधरी, ३० वर्षीय जयराम चौधरी र २७ वर्षीया रुपा चौधरीले पीडित महिलालाई ०८१ पुस ४ गते टुनामुना लगाएर घरको देउतालाई बाँधेका कारण घरमा अशान्ति भएको भन्दै पीडित महिलालाई ज्यान मार्ने उद्देश्यले निर्घात कुटपिट गरी घाइते बनाएका थिए ।
पीडित महिलाको धनगढीस्थित नवजिवन अस्पतालमा उपचार भइरहेको र न्यायका लागि इलाका प्रहरी कार्यालय भजनीमा पुस ५ गते उजुरी दिएकाले मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको पीडितका पति चुन्नुलाल चौधरीले बताउनु भयो ।