बलात्कार घटनामा पीडित भएकी १० वर्षीया बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।
घटनापछि पीडित बालिकालाई सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्द्रमा राखिएको र आवास गृहकी व्यवस्थापक पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि ०८३ जेठ २६ गते आर्थिक सहयोग गरिएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताउनु भयो ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको र कानुनी प्रक्रियाका लागि इन्सेकलाई निवेदन दिएपछि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्दकी व्यवस्थापक तुलसी घिमिरेले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीको उपस्थितीमा इन्सेकले पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
पीडित बालिकालाई जिल्ला अस्पताल सङ्खुवासभामा उपचार पश्चात अहिले सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रमा राखिएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि इन्सेकलाई आग्रह गरेको थियो ।
पीडित बालिकालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राईलाई जेठ २० गते गिरफ्तार गरेको थियो ।
इन्सेकको सहयोगपछि पीडित पक्षलाई कानुनी प्रक्रियामा सहयोग पुगेको छ । पीडित पक्षले बलात्कार घटनाका आरोपित राईविरूद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।