अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम ०८१ चैत १० गते अगैयामा सम्पन्न गरेको छ ।

मानव अधिकार समूहका संयोजक धनी वलीको अध्यक्षतामा बसेको बैठक कार्यक्रमले विविध विषय बस्तुहरूमा छलफल गरी निर्णय सहित बैठक सम्पन्न गरेको छ । कार्यक्रम संयोजक धनी वलीले आफूले स्थानीय तहमा २४ ओटा घरेलु हिंसा मिलाउन सहजीकरण गरेको कुरा बताउँदै समूहका सदस्यहरूलाई पनि अग्रसर भएर स्थानीय तहमा मानव अधिकार उल्लङ्घनका घटनाहरू उठान गर्नका लागि सुझाव दिनुभयो । साथै सो कार्यक्रममा बालविवाह, घरेलु हिंसा, सरसफाई, जलवायु परिवर्तन, लागुऔषधि दुर्व्यवसनीको सङ्ख्या न्यूनीकरण जस्ता समस्याहरूलाई प्राथमिकतामा राखेर काम गर्ने कुरामा सहमति भएको थियो ।
मानव अधिकार समूहका सदस्य पार्वती नेपालीले स्थानीय महिलाहरूको आयआर्जन गर्न गाउँपालिकासँग पैरवी गरी दिएपछि अति विपन्न गोपाली नेपालीलाई आर्थिक क्रियाकलाप गर्नका लागि पालिकाबाट २५ हजार रुपियाँ प्राप्त गरी राप्तीसोनारी गाउँपालिका-२, अगैयामा नास्ता पसल चलाएपछि अहिले आफ्नो परिवार पाल्नमा सहयोग पुगेको बताउनु भयो । मानव अधिकार समूहका उपाध्यक्ष र पुर्व गाविस अध्यक्ष समेत रहेका डम्मर डाँगीले आफूले समुदायमा मेलमिलाप गराउँदै आएकोले प्रायः जसो समस्या परेको बेलामा बोलाई रहेको बताउनु भयो । उहाँले मेलमिलापको नीति नियम कडाइका साथ पालना गर्नुपर्ने सुझाव दिनुभयो ।
समुदायमा अति विपन्न बालबालिकाहरूको पोषिलो खानामा पहुँच वृद्धि गर्न स्थानीय सरकारसँग पैरवी पहल गर्दै आएको कुरा समूह सदस्य राप्तीसोनारी गाउँपालिका-८ की लालकुमारी बुढाथोकीले बताउनु भयो । मेलमिलापकर्ता समूहका सचिव प्रेम चौधरी र सदस्य तिला थारुले समुदायमा काम गर्न घरको काम थाती राखी गर्नु परेको बताउँदै स्वच्छ वातावरण तथा बनमा डढेलो, आगलागी, जङ्गली जनावरबाट सुरक्षित हुने नागरिक सचेतना गराउँदै आएको बताउनु भयो ।
छलफलमा मानव अधिकार समूह विधिवत रूपमा स्थानीय तहमा दर्ता भइसकेको हुनाले स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्दै जाने सहमति भएको थियो । इन्सेकका कार्यक्रम अधिकृत आचार्यले मानव अधिकार समूहको काम, कर्तब्य र अधिकारको बारेमा समूहका सदस्यसँग छलफल गर्दै स्थानीय तहमा काम गर्दा समूहको काम कर्तब्य अधिकार कहिले भुल्न नहुने कुरामा जोड दिनुभयो ।
