अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगर कार्यालयको आयोजनामा परियोजनाको वार्षिक समीक्षा बैठक जेठ २७ गते विराटनगरमा सम्पन्न गरिएको छ ।
इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना (इएलपी) अन्तर्गत सम्पन्न भएका कार्यक्रमहरूको बारेमा समीक्षा गरिएको हो ।
बैठकमा इएलपी परियोजना सञ्चालन भइरहेको प्रदेश १ का इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र प्रदेश २ को सिराहा जिल्लाका सहजकर्ताहरूले परियोजना अन्तर्गत यो वर्षसम्पन्न भएका कार्यक्रमहरू, तिनले पारेको प्रभाव र समस्याका बारेमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा इन्सेक विराटनगर कार्यालयका संयोजक सोमराज थापाले इन्सेकले सञ्चालन गरेको इएलपी परियोजनाका कार्यक्रमले स्थानीय स्तरमा राम्रो प्रभाव पारेको बताए । संयोजक थापाले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षणका लागि पनि सहजकर्ता र जिल्ला प्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।
यसैगरी कार्यक्रम अधिकृत बागमती कट्टेलले परियोजना सकिएपछि पनि स्थानीयले जिम्मेवार निकायलाई निगरानी गर्न सक्ने क्षमता विकास हुने गरी काम गर्न जिल्ला सहजकर्ताहरूलाई आग्रह गरिन् ।


इन्दिरा भट्टराई