इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम कात्तिक २७ गते गौरीगङ्गा नगरपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले स्थानीयस्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवसको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँच बृद्धि गर्न र अधिकारको परिपुर्ति गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जबाफदेही बनाउने उद्देश्यले परियोजनाको सञ्चालन गरिएको बताउँदै परियोजना अन्तर्गत गौरीगङ्गा नगरपालिकामा सञ्चलन गरिने गतिविधिका बारेमा जानकारी गराएका थिए ।
गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवाले इन्सेकले विगत लामो समयदेखि मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउँदै आगामी दिनमा सञ्चाल गरिने यस परियोजनाले स्थानीय स्तरमा भएका मानव अधिकारका सवालहरूको पहिचान तथा ति सवालहरूलाई सम्बोधन गर्न सहज हुने बताए ।
उनले भने–‘हामीले अधिकार र कर्तव्यलाई सँगसँगै अगाडि बढाउन आवश्यक छ । हाम्रो समस्या भनेको बुझेर पनि व्यावहारमा उतार्न नसक्नु हो । हामी सबै इमान्दार र जिम्मेवार बन्न आवश्यक छ ।’
गौरीगङ्गा नगरपालिका–१ का वडा अध्यक्ष जगतराम चौधरीले इन्सेकले सञ्चालन गर्न गइरहेको परियोजनाबाट स्थानीय नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार पाउन सहज हुने बताउँदै आफ्नो वडामा मानव अधिकारका सवालहरूलाई सम्बोधन गर्न सदैव प्रयत्नशील रहने प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा गैरीगङ्गा नगरपालिकास्तरीय ११ सदस्यीय मानव अधिकार समूह समेत गठन गरिएको थियो ।






