इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा र पत्रकार महासङ्घ स्याङ्जाको संयुक्त आयोजनामा असोज ९ गते स्याङ्जामा सम्पन्न भएको पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठकमा सहभागी वक्ताहरूले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गरेको खण्डमा पत्रकार कुनै पक्षसँग पनि डराउनु नपर्ने बताए ।
पत्रकारले आस्थाका आधारमा समाचार लेख्ने प्रवृत्ति बढ्दै जाँदा बेला बखतमा विभिन्न किसिमका धम्की र असुरक्षाको अवस्था आउने भएकाले पत्रकारितामा जिम्मेवारी बोध गरेर काम गरेको अवस्थामा चुनौती कम हुने बैठकमा सहभागी वक्ताहरूको भनाइ थियो ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका निर्देशक दिपकजङ्गध्वज कार्कीले पत्रकारहरू सङ्गठित भएर अगाडि बढेको खण्डमा पेशागत सुरक्षाको अवस्था पनि राम्रो हुने बताउँदै समाजमा असल संस्कृति निर्माण र मानव अधिकारको रक्षाका लागि सञ्चार जगतको महत्वपुर्ण भूमिका हुने बताए ।
कार्कीले अधिकारमूखी र विकाससँग जोडेर समाचार लेख्ने परम्परा अझै विकास नभएकाले पत्रकारहरूलाई सो विधामा कलम चलाउन आग्रह गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लामा पत्रकारमाथि भएका असुरक्षा र धम्कीका बारेमा इन्सेकले अभिलेख गरेका घटनाको बारेमा जानकारी गराएका थिए । संयोजक खकुरेलले सन् २०१८ जनवरी यता गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा चारजना पत्रकार धम्कीका घटनामा पीडित भएको जानकारी दिए ।
बैठकमा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रुद्र श्रीषमगरले सरकारले जारी गरेको देवानी संहिता पत्रकारका लागि बाधक रहेकोले यो विषयमा नेपाल पत्रकार महासङ्घले सरकारको ध्यानार्कषण गराइसकेको बताउँदै सरकारले संहितामा भएका केही प्रावधानलाई संशोधन नगरे पत्रकारहरू आन्दोलित हुने अवस्था आउने बताए ।
नेपाल पत्रकार महासङ्घ, स्याङ्जा शाखाका अध्यक्ष ओमप्रकाश शर्माले पत्रकारलाई अहिलेको अवस्थामा भौतिक सुरक्षा भन्दा पनि आर्थिक सुरक्षाको आवश्यकता टड्कारो रहेको बताउँदै न्युनतम् पारिश्रमिक अहिलेसम्म पनि कार्यान्वयन नभएकोले यसको कार्यान्वयन गराउने कार्यमा सबैले पहल गर्नुपर्ने बताए ।
कानुनले व्यवस्था गरे अनुसारको पारिश्रमिक पाउनबाट पत्रकार वञ्चित भएकाले सो कुरामा मानव अधिकारका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूले आवाज उठाउनुपर्ने शर्माको भनाई थियो । पत्रकार श्याम कुवँरले पत्रकारहरूले आफ्नो काम, कर्तव्य र अधिकारका विषयमा सचेत हुनु पर्ने बताए ।

हिमलाल पराजुली